कुलेखानी तेस्रो आयोजना पूरा हुँदै, असारदेखि उत्पादन सुरु

हेटौँडा, १८ वैशाख । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित सानुटारमा निर्माण सुरु भएको ११ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । चार वर्षभित्र सक्ने लक्ष्यका साथ २०६४ सालमा सुरु भए पनि चिनियाँ ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण ११ वर्षपछि निर्माण सकिएको हो । निर्माणको काम सकेर आयोजनाले केही दिनअघि मात्रै सुरुङ परीक्षण गरेको छ । कुलेखानी तेस्रोको ४.२ किलोमिटर मुख्य सुरुङमा पानी हालेर सफल परीक्षण गरिएको छ । १४ मेगावाट क्षमताको कुलेखानी तेस्रोले अब आगामी असारसम्ममा नियमित विद्युत् उत्पादन सुरु गर्ने आयोजनाले दाबी गरेको छ ।
विद्युत् गृहका टर्बाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरूको जडान सम्पन्न गरी परीक्षणका क्रममा रहेका छन् । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडको लापरबाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्रोको निर्माण ढिलाइ भएको हो ।तीन पटकसम्म म्याद थप्दा पनि काम नभएपछि सन् २०१५ देखि उक्त कम्पनीको म्याद थपिएको छैन । सन् २०१४ सेप्टेम्बर, सन् २०१५ जुन र सन् २०१५ अक्टोबरमा म्याद थप गरिएको थियो । पछिल्लोपटक थपिएको म्याद पनि गुजारेपछि उसबाट हर्जना पनि भराइएको छ । विद्युत गृह, सुरुङलगायतका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनियाँ कम्पनी सिनो हाइड्रोले एकतर्फी ठेक्का तोडेको थियो । यसले गर्दा पनि आयोजनाको निर्माण प्रभावित भएको थियो ।आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाव र खानी खोलाको थप पानी प्रयोग गर्नेछ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । आयोजना निर्माणमा ढिलाइ भएसँगै लागत पनि झण्डै दोब्बरले बढेको छ । दुई अर्ब ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकोमा काम लम्बिँदै जाँदा हालसम्म चार अर्ब ६३ करोड खर्च भइसकेको छ ।








