भीआइपी संस्कृतिले गणतन्त्रकै बदनामी

भीआईपीको सम्मानको नाममा उनीहरुको सवारी सडकमा एक घन्टासम्म जाम हुनु काठमाडौंवासीका लागि सामान्य भैसक्यो । उनै भीआईपी सडकमा गुड्दा मात्र नभई जहाजमा उड्ने समय समेत जहाज डाइभर्ट गरिन्छ । सडक मात्र होइन भीआईपीको सम्मानका नाममा आकाशसमेत खाली गराउँदा सो दिनको दिनभरीको उडान र अवतरण अस्तव्यस्त हुन थालेको छ । जनताले पाएको यो सास्तीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारको भियतनाम भ्रमणले फेरी सम्झाएको छ । 

विहीबार प्रधानमन्त्री भियतनाम जाने बेलामा पनि आम सर्वसाधारणले उस्तै सास्ती भोग्न बाध्य भए । प्रधानमन्त्रीको उडानको समय बिहान ११ बजे थियो । तर, निर्धारित समयभन्दा आधा घण्टाअघि १०ः५० देखि कुनैपनि आन्तरिक तथा बाह्य उडानका जहाजलाई उडान र अवतरण गर्न दिइएन । प्रधानमन्त्री उडेको १० मिनेटपछि बल्ल सर्वसाधारण चढेका विमान सुचारु गरिए । भीआइपी सवारीलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको विमानस्थलले जनाएको छ । झण्डै ४० मिनेट अरु उडान ठप्प गरिँदा त्यसको चाप दिनभर पर्यो । 

 

null

यसअघि बैशाख ११ गते राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तराष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भए । पछिल्लो पटक भीआईपी उडानले सबैभन्दा बढी उडान प्रभावित भएको त्यो नै पहिलो घटना हो । त्यसपछिका उडान र अवतरणलाई सामान्य गतिमा ल्याउन विमानस्थलका अधिकारीलाई निक्कै हम्मे हम्मे पर्यो नै आकाशमा धेरै समय विमान होल्ड र डाईभर्ट गर्नुपर्दा धेरै यात्रुहरुले जोखिम र झन्झट बेहोर्नुपर्यो । राष्ट्रपति चीनबाट फर्कदा समेत उडानका यात्रुहरुले उस्तै सास्ती पाए । उडान तालिका अस्तव्यस्त बन्दा यात्रुले घन्टौंसम्म विमानस्थलमा कुर्नुपर्यो । 

एकातिर त्रिभुवन विमानस्थलको धावनमार्ग मर्मतका लागि विमानस्थलको सञ्चालन समय २१ घन्टाबाट घटाएर १४ घन्टामा झार्दा उडान र अवतरणको चाप थेगीनसक्नुको छ । अर्कोतर्फ राष्ट्रपति, प्रधानमन्त्रीको सवारीको समयमा घण्टौं विमानस्थल ठप्प गर्दा दिनभरीकै उडान अवतरणमा प्रभाव पर्ने गरेको छ । जसबाट मर्का पर्ने भनेको सर्वसाधारणलाई नै हो । 

यसरी राष्ट्रपति र प्रधानमन्त्रीको सम्मानका नाममा उनीहरुको सवारीमा सडकदेखी विमानस्थल खाली गराउन थालेपछि गणतन्त्र नै बदनाम बन्न थालेको छ । शासन व्यवस्था फेरिए भने शासनशैली नफेरिएपछी सर्वसाधारणले उस्तै हैरानी बेहोर्नु परेको छ । यसको जति नै आलोचना भएपनि न शासक सुध्रिएका छन्, नत व्यवस्था सुधारेका छन् । 

सवारीमा सामन्ती शैली अपनाएको भन्दै सर्वसाधारणले पटक–पटक आलोचना गर्दा पनि सरकारले यसमा सुधारको प्रयास गरेको छैन । यसकारण गणतन्त्रप्रति नै सर्वसाधारणको वितृष्णा बढेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । सुरक्षाकर्मीको अतिसुरक्षाबादी चिन्तनका कारण नागरिकले बढी सास्ती पाएका बरिष्ठ पत्रकार तथा विश्लेषक आनन्दराम पौडेल बताउँछन् । उनीहरु शासकप्रति उत्तरदायी हुनुपर्ने भएकाले ढुक्क हुन चाहिने भन्दा कडा गरी सडक तथा उडान बन्द गर्ने गरेको उनी बताउँछन् । 

‘आफुलाई भोट दिने नागरिकलाई सडकमा घण्टौं जाममा पारेर तिनै भोटबाट माथी पुगेका भीआइपी भनिएकाहरु अगुवा पछुवा गाडीसहित हुइकिन्छन्, उडानको क्रममा समेत घण्टौें अरु जहाज होल्ड गर्ने गरेका छन्,’ बरिष्ठ पत्रकार तथा विश्लेषक आनन्दराम पौडेल भन्छन्,‘राजाका पालादेखि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा समेत यो शासन शैली नफेरिएकोले नागरिकको गणतन्त्रप्रति वितृष्णा बढेको हो ।’ 

सुरक्षा संवेदनशीलतालाई मध्यनगर गर्दै भीआईपी उडानको समयमा आधा घण्टासम्म आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण बन्द गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री बताउँछन् । यसलाई सामान्य रुपमा लिनुपर्ने उनको तर्क छ । उनी भन्छन्, ‘पछिल्लो समय पहिलेभन्दा कम समयमात्रै उडान प्रभावित हुँदै आएको छ । यो नेपालमा मात्रै होइन सबै देशमा हुन्छ । सुरक्षा संवेदनशीलतालाई हेरेर यस्तो गर्नु परेको हो ।’ 

 

राष्ट्रपति, प्रधानमन्त्री आवतजावत गर्दा सुरक्षा खतरा भएकाले सडकदेखि विमानस्थलमा समेत जाम तथा होल्ड गर्नुपरेको सुरक्षा निकायको जवाफ छ । पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी भने सर्वसाधारणको आवागमन ठप्प पारी सुरक्षा खतराको संज्ञा दिनु गलत भएको बताउँछन् । उनी भन्छन् ‘बाटो तथा विमानस्थल होल्ड गर्ने भारतलगायतका देशमा पनि प्रचलन छ, त्यहाँ सुरक्षा खतरा देखेर गरिएको हो, तर हाम्रो नेपालमा राष्ट्रपति, प्रधानमन्त्रीलाई त्यस्तो किसिमको खतरा छैन । यहाँ रवाफ देखाउन देखासिकी र नौटंकी मात्रै गरिएको हो ।’ 

उच्च पदस्थको आवागमन हुँदा घण्टौं जाम नगरेर पनि व्यवस्थापन गर्न सकिने मल्लको तर्क छ । सडकमा पुरै जाम नगरी अरु लेन खुल्ला राख्न सकिने सुरक्षा अवस्था रहेपनि पुरै बन्द गर्नाले सर्वसाधारणको आक्रोश चुलिएको मल्लको तर्क छ । 

गत फागुनमा राष्ट्रपति शीतल निवासबाट भद्रकालीको आर्मी हेडक्वार्टरमा रात्रिभोजमा सवारी हुने कार्यक्रममा सडक बन्द गरिँदा सर्वसाधारणले उल्लंघन गरे । सुरुमा हर्न बजाएर विरोध गरेका सर्वसाधारण चालकहरुले सवारी हुरुरु कुदाएर राष्ट्रपतिलाई पनि सवारी जाममा पारिदिएका थिए । केही दिनअघि राष्ट्रपति आउँदो आर्थिक बर्षको सरकारको निती तथा कार्यक्रम प्रस्तुतको लागि संसद भवन जाने क्रममा पनि सर्वसाधारणले हर्न बजाएर विरोध जनाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *