मिडिया काउन्सिलसम्बन्धी विद्येयक खारेज गर्नुपर्छः शाही युवा शक्ति

जेठ ३ काठमाडौं । शाही युवा शक्ति, नेपालले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेगरि सरकारले मिडिया काउन्सिलसम्बन्धी विद्येयक ल्याउन लागेको भन्दै तत्काल उक्त विद्येयक खारेजीको माग गरेको छ ।
शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्तिले यस्तो माग गरेको हो । लोकतन्त्रको आवरणमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मिडियालाई नै नियन्त्रण गर्नेगरि विद्येयक ल्याउन लागेको अध्यक्ष पशुपति खड्काले आरोप लगाए ।
null
‘निरंकुश ओली सरकारविरुद्ध सम्पूर्ण नेपाली जनतालाई हामी सडकमा उत्रिनको लागि यही मञ्चबाट आग्रह गर्दछौं । अहिले आन्दोलन नगरे मुलुक झन एकपछि अर्को गरि ठूलो अप्ठ्यारो र भूमरीमा फस्छ ।’ खड्काले भने ।
उनले अहिलेपनि जनताको चाहना भनेको मुलुकमा राजसंस्था पूर्नस्थापना होस भन्ने नै भएको सुनाए । ‘विदेशीको ईशारामा लादिएको यो गणतान्त्रिक व्यवस्था देश र जनताको लागि धेरै महँगो सावित भैसक्यो । अब देशले यो व्यवस्था धान्न सक्दैन । त्यसैले राजसंस्था चाहिन्छ ।’ खड्काले थपे ।
उनले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित रहेर आफ्ना संगठनका सदस्यहरुले गतिविधि गर्दापनि ओली सरकारले निरंकुशता लादेर अपहरण शैलीमा गिरफ्तार गरेकोमा गम्भिर आपत्ति जनाए । ‘श्रीमान गम्भिर गीत बजाउँदा गणतान्त्रिक सरकार थर्कमान भएर हाम्रो संगठनका पश्चिमाञ्चल प्रमुख प्रित्तम केसी र रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र विश्वकर्मालाई जबरजस्ती अपहरण शैलीमा पक्राउ गरि मुद्दा चलायो ।’
कार्यक्रममा संगठनका महासचिव कृष्णराज थापाले सरकारले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई निःशर्त रिहाई गर्नुपर्ने माग गरे । त्यस्तै, सरकारले विद्येयकमार्फत प्रेसमाथि लगाउन खोजेको अंकुशको पनि उनले विरोध गरे ।








