अवैधरुपमा भारत तथा खाडीमुलुक भाँसिन्दै महिला तथा बालबालिका

 

जेठ ६, बाँके । बाँकेको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको सङ्ख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ । 

भारत र खाडीमुलुक गएर हराएका प्रदेश नं ५ र ७ कर्णाली प्रदेशअन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले यहाँ स्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले यसको चित्रण गरेको छ । 

null

यहाँको माइती नेपालमा आफन्त खोजीको निवेदन दिनेको सङ्ख्या विगत १६ वर्षको अवधिमा करीब पाँच हजार पुगेको तथ्याङ्कमा उल्लेख छ । यस वर्षको नौ महीनाको अवधिमा करीब ४०० भन्दा बढीले आफन्त हराएको निवेदन दिएका छन् । 

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, भारत र खाडीमुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ । 

“बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाको मूल समस्या गरीबी नै हो भन्न सकिन्छ”, संयोजक कोइरालाको भनाइ छ । 

केही समय अघि मात्र दिल्ली पुर्याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्धार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो । 

त्यसअघि पनि तीन जना महिलाको उद्धार दिल्लीबाटै भएको थियो । 

कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडीमुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

संयोजक कोइरालाका अनुसार, विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार सङ्ख्यासमेत बढेको छ । राम्रो तथा सुरक्षित काम दिलाइ दिने प्रलोभनमा पारी महिलालाई अवैधरुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाँउगाँउमा सक्रिय रहेको उहाँको भनाइ छ । 

माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट फिर्तासमेत पठाउँदै आएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *