संगीत उपनिर्देशक सुनामको बिदाई

वैशाख १८, काठमाडाैँ ।  बुधवार नेपाल प्रज्ञा–प्रतिष्ठानका संगीत उपनिर्देशक कलाकार केशव सुनामलाई एक समारोहका बिच बिदाई गरिएकाे छ । 

 

३९ वर्ष सम्म प्रज्ञा–प्रतिष्ठानमा दीर्घसेवा गरी अनिवार्य अवकाश लिएका संगीत उपनिर्देशक सुनामलाई कुलपति गङ्गाप्रसाद उप्रेती र उपकुलपति डा. जगमान गुरुङले कुशलतापूर्वक प्रज्ञा–प्रतिष्ठानको दीर्घसेवा गरेकामा कदर गर्दै अबिरको टीका लगाइदिई फूलमाला र खादा ओडाई सम्मान गरिएकाे थियाे । 

null

नेपाल प्रज्ञा–प्रतिष्ठान, कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष विश्वमोहन राजभण्डारीले संगठनका तर्फबाट प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए । कुलपति उप्रेतीले सुनामलाई मृदुभाषी, मिलनसार र कर्तव्यपरायणका साथै प्रतिभाशाली कलाकार भन्दै उहाँको कार्यकाल अत्यन्त सन्तोषजनक रहेको बताए । उनले संस्थाको प्राण भनेकै कर्मचारी रहेको विचार व्यक्त गरे । 

 

कर्मचारी परिवारका तर्फबाट संगठनका अध्यक्ष विश्वमोहन राजभण्डारीले सुनामका सुकार्यहरूबारे प्रकाश पारेका थिए । भ्वाइलिन, किबोर्ड एवम् हार्मोनियम वादक सुनाम २०३७ सालमा प्रज्ञा–प्रतिष्ठानमा कलाकारका रुपमा सेवा प्रवेश गरेका थिए । बिदाई ग्रहण गर्दै कार्यक्रममा सुनामले राष्ट्रका प्राज्ञिक व्यक्तित्वहरूसँग काम गर्न पाउँदा आफू धन्य भएको बताए । 

कार्यक्रममा प्राज्ञ परिषद् सदस्यहरू प्रा.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा. गोपिन्द्र पौडेल, माया ठकुरी र प्राज्ञ सभा सदस्य शशी लुमुम्बूको उपस्थिति रहेको थियो । 

यसै गरी प्रशासन प्रमुख सुमन अधिकारी, योजना तथा कार्यक्रम महाशाखा प्रमुख सन्ध्या पहाडी, का.मु. आर्थिक महाशाखा प्रमुख चित्रा ठकुरी, नेपाल प्रज्ञा–प्रतिष्ठान, कलाकार तथा कर्मचारी सङ्घका अध्यक्ष अशोककुमार चौरसिया, राष्ट्रिय कर्मचारी संगठन, नेपाल प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष धनबहादुर कार्की लगायत उपप्रमुख, अधिकृत एवम् समस्त कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम बुद्धि तिमल्सिनाले सञ्चालन गरेका थिए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *