‘माफियासँग हिमचिम बढाएका नेताहरुले मिडियालाई दुश्मन ठाने’

 

बैशाख ३०, काठमाडौं । साझा विवेकशील पार्टीले सरकारले प्रेसको हक अधिकार कुण्ठीत गराएर आफ्ना अकर्मण्यता, बेथिति र भ्रष्टाचारलाई मलजल गर्ने प्रयास गरेको आरोप लगाएको छ । 

सोमबार आयोजित पत्रकार सम्मलेनमा विवेकशील साझाले मिडियालाई नियन्त्रण गर्ने अभिप्रायले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकप्रति आपत्ति जनाउँदै सरकार भ्रष्टाचारलाई मलजल गर्नेतर्फ लागेको आरोप लगाएको हो । 

null

‘नेपाली प्रेसले प्राप्त गरिसकेको हक र अधिकार कुण्ठीत गराएर सरकारका अकर्मण्यता, वेथिति र भ्रष्टाचारलाई मलजल गर्ने प्रयासविरुद्ध खबरदारी गरिरहेको नेपाली मिडियालाई नियन्त्रण गर्ने सरकारको कुचेष्टा ‘अनुदार लोकतन्त्र’ उन्मुख छ भन्ने हाम्रो ठहर हो’, विवेकशील साझाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

सत्तारुढ दलका शिर्ष नेताहरुले नै स्वास्थ्य, शैक्षिक, आर्थिक र भूमी माफियासँग हिमचिम बढाइरहेको प्रमाण नेपाली मिडियाले सार्वजनिक गर्न थालेपछि आत्तिएका नेताहरूले मिडियालाई आफ्नो ‘मुख्य दुश्मन’ ठान्नु स्वभाविक रहेको विवेकशीलको धारणा छ । 

यस्तै विवेकशील साझाले सरकारले आफ्नो निराशाजनक, बदनापूर्ण डेढ वर्षे कार्यकालको ढाकछोपका लागि पनि प्रेसमाथि अंकुश लगाउन खोजेको आरोप लगाएको छ । विवेकशीलले विज्ञप्तिमा भनेको छ, ‘राष्ट्रियता, जनजीविका, सुशासन, पारदर्शिता र जनउत्तरदायित्वको सवालमा बर्तमान सरकारको डेढ वर्षे कार्यकाल अत्यन्त निराशाजनक, बदनामपूर्ण र अलोकप्रिय भएको परिप्रेक्षमा सरकार आफ्ना असफलताको ढाकछोप गर्न चाहन्छ। भ्रष्टाचार र कुशासन नियन्त्रण गर्न नसक्ने सरकारहरू सधैँ मिडियालाई नियन्त्रण गर्न चाहन्छन्।’ 

विवेकशील साझाले संसदमा पेश गरिएको मिडिया काउन्सिल विधेयक अविलम्व फिर्ता गरी सरोकारवालाहरुसँगको परामर्शमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अनुकुल कानुन निर्माण गर्न पनि सरकारसँग माग गरेको छ । 

नेपालको लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेसले पुर्याएको अतुलनीय योगदानको परिप्रेक्षमा प्रेसको घाँटी निमोठ्ने कुनै पनि कदमका विरुद्ध मिडियाको साथमा रहने विवेकशीलको प्रतिबद्धता छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *