सैनिक अस्पतालको लूटतन्त्र हेर्ने आँट कसको ?

 

बैशाख २५, काठमाडौं । विरेन्द्र सैनिक अस्पताल छाउनीमा भएको भ्रष्टाचार र अनियमितता खोतल्ने हो भने, सेनाका जर्नेल, कर्नेल सबै मुछिन्छन् । खासगरी अस्पतालले खरिद गर्ने औषधी उपकरण तथा सामानमा मनपरी छ ।  

सैनिक स्वास्थ्य महानिर्देशनालय जंगी अड्डालाई सार्वजनिक खरिद ऐन अन्र्तगत खरिद प्रक्रिया गर्नुपर्छ भन्ने मतलबै छैन । कल्याणकारी स्वास्थ्य सेवा व्यवस्थापन महाशाखामा भएको भ्रष्टाचार त हेरिसाध्यै छैन ।  

null

पछिल्लो समय महाशाखाले नेपाली सेनाका रेगुलर तथा कल्याणकारी समुहबाट औषधोपचार पाउने ब्यक्तिहरुलाई आवश्यक पर्ने औषधी खरिद गर्ने निर्णय गर्दा रितपूर्वक नगरी मिलेमतोमा टेण्डर निकालेको पाइएको छ । औषधी खरिद गर्न भन्दै गत चैत्र २० गते सुचना प्रकाशित भयो, ७ दिन भित्र टेण्डर नहुँदा पुनः बैशाख १० गते टेण्डर आब्हान गरीयो ।  

 

उक्त टेण्डरमा कृपाशुर, सर्जिमेड डिष्टीब्यूटर्स, ब्लुमुन लगायतले टेण्डर भरे ।  

महाशाखाले बोलपत्रको दस्तुर मुल्य नै नतोकी धरौटी बापत २ लाख ५० हजार माग्दै टेण्डर आब्हान गर्नु नै रितपूर्वक नभएको स्रोतको दावि छ । ‘कुनैपनि सामानको टेण्डर हुँदा त्यसको खुद्रा मुल्य (MRP) हैन, मुल्य तोकीनु पर्दथ्यो, तर, यहाँ डाइरेक्ट (MRP) खुद्रा मुल्य तोकीएको छ । कति मुल्यको टेण्डर हो त्यो पनि खुलाइएको छैन, मात्र २ लाख ५० हजार धरौटी माग गरिएको छ’ स्रोत दावि गर्दछ ।  

स्रोतका अनुसार आर्थिक वर्ष ०७५/०७६ सकिनै लाग्दा करोडौं मुल्यको औषधी खरीद गर्नुमै गलत नियत छ । ‘आर्थिक वर्ष सकिन २ महिना बाँकी छ, १४ सय भन्दा बढि औषधी माग गरिएको छ । अस्पतालमा औषधी चाहिएकै थियो भने, अगाडी नै किन खोलिएन ? यो सरकारको पैसा सकाउने मेलो गरिएको मात्र हो ।’ एक सप्लायर्सले नाम उल्लेख नगर्ने शर्तमा भन्यो ।  

स्रोतका अनुसार आर्थिक वर्ष ०७५/०७६ को सरकारी बजेट सकाउन महाशाखाले चालू आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा करोडौं मुल्यको औषधी खरिद गर्ने तयारी गरेको हो । चालू आर्थिक वर्षभित्र औषधी खरिद नगरिए बजेट फ्रिज हुने भएकोले पनि त्यसो गरिएको हो ।  

रितपूर्वक औषधी खरिद नगरी चोर बाटोबाट औषधी खरिद गर्नुमा सैनिक स्वास्थ्य महानिर्देशालयका जर्नेल सुनिल सिंहले सप्लायर्ससँग सेटिङ मिलाएका छन् । स्रोतका अनुसार उनले औषधी खरिद गरे वापत विभिन्न सप्लायर्सबाट मोटो रकम कमिसन खाने गरेका छन् ।  

स्रोतका अनुसार जर्नेल सुनिल सिंहले प्रधानसेनापति पूर्णचन्द्र थापालाई समेत थाहै नदिइ रित नपुर्याइकन टेण्डर गरेका हुन् ।  

यस विषयमा कर्नेल सिंहसँग कुरा गर्दा उनले आफुले बोल्न नमिल्ने भन्दै पन्छिए । ‘मैले केहि बोल्न मिल्दैन, प्रवक्तासँग कुरा गर्नुस ।’ उनले भने । सैनिक अस्पतालका प्रवक्ता सहायक रथि विज्ञानदेव पाण्डेले औषधी खरिदको टेण्डर रितपूर्वक नै भएको र गत २२ गते नै सप्लायर्सहरुसँग प्रि मिटिङ राखिएको बताए । ‘मेरो जानकारीमा आए अनुसार यो टेण्डरमा चलखेल भएको छैन, सबै रितपूर्वक नै भएको छ ।’ पाण्डेले भने–‘तथापि, अन्य जानकारी बुझेर दिउँला ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *