यस कारण नेपाल आउँदैछन् अमेरिका सहित १३ देशका सैनिक

 

बैशाख ३१, काठमाडौं । नेपालमा १३ देशको संयुक्त सैन्य अभ्यास सञ्चालन गर्ने भएको छ । नेपाली सेनाका अनुसार विपतका बेला गर्ने उद्धारसम्बन्धी संयुक्त तालिमका लागि अमेरिकी सैन्य नेतृत्व केही दिनमा नेपाल आउँने भएको छ । तालिम जेठ ५ गतेदेखि पोखरामा हुनेछ । तालिममा अमेरिकाका अतिरिक्त बेलायत, क्यानडा, थाइल्यान्ड, जापान, मंगोलिया, मालदिभ्स, भारत, श्रीलंका, बंगलादेश, इजरायल, चीन र पाकिस्तान सहभागी हुने सेनाले जनाएको छ । 

एसिया प्रशान्त क्षेत्रको सैन्य रणनीति हेर्ने अमेरिकी सैन्य दस्ता ‘यूएस आर्मी प्यासिफिक’ (यूएसआरप्याक) ले ‘डिजास्टर रेस्पोन्स इमर्जेन्सी एक्सरसाइज’ शीर्षकमा चलाउन लागेको विपद प्रतिकार्य तालिममा हरेक देशबाट एक सैनिक अधिकारी र एक गैरसैनिक अधिकारी सहभागी हुँदै छन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार तालिममा सहभागी हुन सबै देशलाई अमेरिकाले नै निम्तो पठाएको छ । 

null

तालिमको सहआयोजक नेपाली सेनाले आफ्ना ६० अधिकारीलाई विपदको कला सिक्न खटाउने निर्णय गरेको छ । यूएसआरप्याकका डेढ दर्जन सैन्य अधिकारी दुई समूहमा गरी नेपाल आउँदै छन् । पहिलो समूहमा तालिमका योजनाकारहरू जेठ २ गते काठमाडौं आएर पोखरा जाने र तालिममा सहभागी टोली भने दुई दिनपछि आइपुग्ने योजना रहेको पाण्डेले बताए । 

उनका अनुसार भूकम्प आएका बखतको उद्धारमा तालिम केन्द्रित भएकाले नीति निर्माण तहका गैरसैनिक अधिकारीहरू पनि यसमा संलग्न हुन लागेका छन् । सैनिक प्रवक्ता पाण्डेले यसले विपदमा काम गर्ने सैन्य कौशल त बढाउने र नेपालको अन्तराष्ट्रिय सैन्य सम्बन्ध पनि बलियो पार्ने जिकिर गरे । 

अमेरिकी सेनाले यसअघि पनि यस्तो अन्तराष्ट्रिय स्तरको चारवटा तालिम नेपालमा गरिसकेको छ । यसपटक सबै देशका गरी दुई सय २० भन्दा बढी सैनिक र गैरसैनिक अधिकारीले संयुक्त अभ्यास गर्न लागेका छन् । यसैगरी अमेरिकाले ‘इन्डो एसिया प्यासिफिक स्ट्राटेजीको महत्त्वपूर्ण साझेदार’ नेपाललाई विपद कार्यमा प्रयोग हुने चारवटा स्काई ट्रक अनुदानस्वरूप सहयोग गर्ने घोषणा गरेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार यो वर्षको अन्त्यमा त्यस्ता दुई स्काई ट्रक नेपालमा आइपुग्नेछन् । बाँकी दुई ट्रक अर्को वर्षमा दिइनेछ । 

स्काई ट्रक छोटो धावनमार्गमा अवतरण गर्न सक्ने, ज्यादा भार बोक्ने र छिटो उडन सक्ने क्षमता भएको सैन्य जहाज हो । यस्तो जहाज नेपाली सेनासँग दुईवटा थिए । केही समयअघि कोल्टीमा एउटा दुर्घटनामा परी बिग्रेपछि एउटा मात्रै बाँकी छ । एउटा जहाजले भूकम्पजस्तो महामारी पर्दा काम फत्ते गर्न नसक्ने हुनाले थप जहाज नेपालका लागि आवश्यक परेको सैनिक अधिकारीहरू बताउँछन्  । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *