देशभर सुरु हुँदै कांग्रेसको जागरण अभियान

 

बैशाख २५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजबाट ७७ वटै जिल्लामा एकसाथ जागरण अभियान सुरु गर्दैछ । 

बुधबारबाट सुरु हुन लागेको कांग्रेसको पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म चल्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

null

प्रवक्ता शर्माका अनुसार देशका सबै जिल्ला, क्षेत्र, गाउँ–नगर, वडा र टोलसम्म चल्ने अभियानको आज दिउँसो १२ बजे सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा गृहमा उद्घाटन गर्दैछन् । 

प्रथम चरणको अभियान ७७ जिल्लामा सञ्चालन गरिनेछ भने भदौ २४ (वीपी जयन्ती) देखि असोज १० गतेसम्म सञ्चालन हुने दोस्रो चरणको जागरण अभियानमा ३३० प्रदेश निर्वाचन क्षेत्र समेटिने छ । यस्तै तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ । तेस्रो तथा अन्तिम चरणको जागरण अभियान पुस ७ देखि १६ गतेसम्म सञ्चालन हुने कांग्रेसले जनाएको छ। 

यस अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकिएको छ । कार्यक्रममा सातै प्रदेशमा पदाधिकारीले प्रदेशको कमान्ड गर्नेछन् । 

जसअनुसार सभापति शेरबहादुर देउवाले प्रदेश ३ को काठमाडौंमा सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश २ को धनुषामा सम्बोधन गर्नेछन्। 

यस्तै प्रदेश १ को सुनसरीमा उपसभापति विजय गच्छदार, गण्डकीको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का र प्रदेश ५ को रुपेन्देहीमा अर्का महामन्त्री शंशाक कोइरालाले सम्बोधन गर्नेछन् । 

कर्णालीमा कोषाध्यक्ष सीतादेवी यादव र सुदुरपश्चिमको कैलालीमा उपसभापति विमलेन्द्र निधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रवक्ता शर्माले बताए । 

जागरण अभियानका लागि १२ भाषामा जागरण गीत समेत तयार गरिएको छ । मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषामा गीत तयार भएको हो। 

अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *