गाल गर्ने सरकार, अवगाल पर्ने राष्ट्रपति (भिडियोसहित)

२३ बैशाख काठमाडौं । नेपालमा राष्ट्रपति कार्यकारी प्रमुख पद नभएपनि पटक पटक विवाद आइरहेको छ । राष्ट्रपति कार्यकारीणी रहेको मुलुकमा उसका काम कारवाहीलाई लिएर विवाद हुनु स्वभाविक हो । तर नेपालमा आलंकारिक र संबैधानिक संस्थाप्रति आलोचना हुनु स्वभाविक होईन । पछिल्ला दिनहरूमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका कतिपय विषयहरु विवादमा तानिने गरेका छन् । राष्ट्रपति भण्डारी स्वयम्ले आफुप्रति संकेत गर्दै राज्यका विभिन्न संबैधानिक अङ्गहरूलाई विवादित बनाउन खोजिएको भन्दै गुनासो गर्दै आएकी छिन् । 

पछिल्लो पटक संघीय संसदको दुवै सदनमा संयुक्त रुपमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा समेत राष्ट्रपति भण्डारी विवादमा तानिएकी छिन् । हुनत पहिलो राष्ट्रपति डा. रामबरण यादब पनि विवादमुक्त थिएनन् । तुलनात्मक रुपमा वर्तमान राष्ट्रपति भण्डारी धेरै पटक विवादमा तानिई सकेकी छिन् । नेपालमा कार्यकारिणी अधिकार मन्त्रीपरिषदमा निहित भएकाले राष्ट्रपतिको संस्थालाई निरन्तर विवादमा पार्नु सरकारको कार्यक्षमता कै कमजोरी मानिएको छ  । संबैधानिक राष्ट्रपतिलाई विवादमा तान्ने घटना बढिरहँदा सरकारले भने समाधानमा कुनै जोड दिएको देखिदैन । 

वार्षिक नीति तथा कार्यक्रम सम्बोधनको क्रममा राष्ट्रपति भण्डारी विवादमा परिन् । यसअघि नेपाल सरकार भनिँदै आएकोमा राष्ट्रपतिको सम्बोधनमा मेरो सरकार भन्न लगाइयो । अप्रत्याशित रूपमा राजाको झझल्को आउने गरी राष्ट्रपति प्रस्तुत हुँदा बढेको आलोचना थेग्न नसकेर सरकार स्पष्टीकरण दिन नै बाध्य हुनुपर्याे । 

null

संविधानको धारा ७५ ले कार्यकारिणी अधिकार संविधान र कानुनअनुसार मन्त्रिपरिषदमा निहित हुने भनेको छैन । यस हिसाबमा हाम्रा राष्ट्रपतिबाट मेरो सरकार भनाउनु संविधानसम्मत नदेखिएको र तत्कालिन राजाकै हैसियतमा आफुलाई पुर्याउन खोजिएको भन्दै आलोचना भएको छ । 

 

अति विशिष्ट व्यक्तिहरूको औपचारिक सवारीमा नागरिकहरूले पाउदै आएको सास्ती पुरानै रोग हो । भण्डारी दोस्रो पटक राष्ट्रपति बनेपछि पनि त्यसमा सुधार हुनु त परकाे कुरा उनकाे सवारी जनताका लागि घाँडाे नै हुन थाल्याे । उनी झन आलोचनाको पात्र बनिरहेकी छिन् । तानाशाही राजतन्त्र फालेर ल्याइएकाे गणतन्त्रमा पुनः राजतन्त्रकै झल्काे दिने गरी राष्ट्रपतिकाे सवारीमा जनतालाइ घण्टाैं सडकमा बन्धक बनाइरहनु कुनैपनि हालतमा सहि थिएन । 

विदेश भ्रमणका बेला होस् वा औपचारिक सभा समारोहमा जाँदा सर्वसाधारणको सवारी लामो समयसम्म रोकेर जाममा राख्ने प्रचलनले पटक पटक राष्ट्रपति भण्डारी विवादमा मुछिदै आएकी छिन् । विरोध स्वरुप नागरिकहरूले ट्राफिक प्रहरीलाई नटेरी अवज्ञा गर्न सुरु गरिसकेका छन् । 

 

केही महिनाअघि राष्ट्रपति भण्डारी राष्ट्रपति कार्यालय हातामै हेलिप्याड बनाउन लागिएको विषयमा पनि विवादमा तानिइन् । गत भदौमा मन्त्रिपरिषद् बैठकले राष्ट्रपति कार्यालयसँग रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको थियो । 

उक्त निर्णय राष्ट्रपतिको चाहनामा भएको र प्रहरी प्रशिक्षण प्रतिष्ठान रहेको स्थानमा उनका लागि हेलिप्याड बनाइने समाचारहरू सार्वजनिक भएपछि उनको व्यापक आलोचना भयो । सो विषयले हप्तौँसम्म सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा चर्चा पायो । गणतन्त्रात्मक नेपालको राष्ट्रपतिले समेत राजा महाराजाको जस्तो सुविधा खोजेको भनेर धेरैले कडा आलोचनाहरू गरे । 

 

हेलिकप्टर मात्र नभई बिलासी सुविधाका महँगा गाडीहरू किन्न लागिएको विषयले पनि राष्ट्रपति भण्डारी विवादमा परिन् । सरकारले सेनामार्फत् त्यस्ता विलासी गाडीहरू किन्न लागेको थियाे । ती गाडीहरू खरिदका लागि १८ करोड रूपैयाँ विनियोजन भएको समाचार सार्वजनिक भएलगतै समाचार माध्यमदेखि सामाजिक संञ्जाल प्रयोगकर्ताले राष्ट्रपतिको उछित्तो काडे । साङ्केतिक विरोध गर्दै केही युवाहरूले राष्ट्रपतिको गाडी खरिदको लागि भन्दै भीख समेत मागे । कतिले खेलाैना गाडी राष्ट्रपतिलाइ उपहार पठाउने हिम्मत पनि गरे । 

 

गएको दशैँमा राष्ट्रपतिले तत्कालिन राजाको शैलीमा टीका लगाईदिएपछि विवादमा तानिइन् । उनले उच्च पदमा आशिन केही व्यक्तिलाई टीका लगाईदिएको तस्बिरहरू भाइरल भएपछि राष्ट्रपतिलाई निक्कै आलोचित बनायो । राष्ट्रपति निवासमा टीका थाप्नेलाई कुर्सीको व्यवस्थासमेत गरिएको थिएन । राष्ट्रपति आफु कुर्सिमा बसेर अरुलाई घुँडा टेकाएर टिका लगाईदिएपछि सामाजिक सञ्जालमा केही सातासम्म चर्चा भयो । आफ्ना छोरी ज्वाईलाई कुर्सिमा बसालेर टीका लगाईदिएकी राष्ट्रपतिले सबैधानिक अङ्गका प्रमुखलाई घुँडा टेकाएर टीका लगाईदिएकी थिइन् । दशैँमा राजतन्त्र कालमा राजाले लगाइदिने जस्तैगरि राष्ट्रपति, प्रधानमन्त्रीलगायतले पुर्णीमासम्म टीका लगाइदिने चलनकै धेरैले आलोचना गरिरहेको बेलामा घुँडा टेकाएर टिका लगाईदिँदा विभेद र पक्षपात गरिएको रूपमा धेरैले व्याख्या गरेका थिए । 

 

पोखरास्थित विन्ध्यावासिनी मन्दिरमा निर्मित लिफ्टको उद्घाटन गरेपछि राष्ट्रपति भण्डारी पुनः विवादमा परिन् । मुलुकको सर्वाेच्च पदमा आसिन व्यक्ति अति भन्दा अति सामान्य कार्यक्रमहरूमा सहभागी हुन गएको भन्दै आलोचना भयो । वडा अध्यक्ष हाराहारीको व्यक्तिले गर्न सुहाउने लिफ्ट उद्घाटनमा राष्ट्रपति गएको भन्दै धेरैले उनकाे खिल्ली उडाए । उनले राष्ट्रपतिको मर्यादा राख्न नसकेको भन्दै धेरैले सामाजिक सञ्जालमा आलोचना भयाे । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *