अब बस टिकट काउन्टरका कर्मचारीलाई पनि अनिवार्य पोशाक

 

बैशाख १७, काठमाडौं । सार्वजनिक बसका टिकट काउन्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । 

काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी र यातायात व्यवसायीको छलफल अनुसार अब सार्वजनिक बसका टिकट काउण्टरमा कार्यरत कर्मचारीले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको हो । 

null

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिको संयुक्त आयोजनामा उक्त अभियान सोमबार नयाँ बसपार्कबाट शुरु गरिएको छ । सोही अवसरमा पश्चिम क्षेत्रमा जाने बस टिकट काउन्टरमा कार्यरत १५० भन्दा बढी कर्मचारीले पोशाक लगाएका छन् । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकालगायत देशभरको सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि उक्त अभियान शुरु गरिएको जानकारी दिए । ‘नयाँ बसपार्कबाट शुरु भएको यो अभियानलाई देशभर लैजान्छौँ, देशभरमा सञ्चालित बस काउन्टरमा कार्यरत कर्मचारीलाई अनिवार्य पोशाक लगाउन आग्रह गर्दछु’–उनले भने । 

पोशाकको शुरुवातसँगै यात्रुलाई कसलाई बसभाडा बुझाउने भन्ने अन्योलता हट्ने भएको छ । यात्रुलाई अनिवार्य टिकट लिएर मात्र यात्रा गर्नसमेत महासङ्घले आग्रह गरेको छ । 

पोशाकसँगै परिचयपत्र समेत अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले जानकारी दिए । ‘नेपालको एकमात्र राष्ट्रिय बसपार्क नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय मापदण्डको बसपार्क निर्माणका लागि हामी सम्बन्धित निकायसँग सहकार्य गरेर अगाडि बढ्छौँ,’ कुँवरले भने । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले पोशाक शुरु भएसँगै यात्रुहरु नठगिने बताए । पोशाक लगाएसँगै ट्राफिक समेत सहज हुने उनको भनाइ छ । 

दशैँ, तिहारलगायतका पर्वमा कर्मचारीभन्दा विचौलियाबाट यात्रु ठगिने भएकाले पोशाक व्यवस्थापनसँगै उक्त समस्या हट्नेछ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा रहेका छन् । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *