साहित्यः पत्नी पूजा (लघुकथा)

बिहान बेलुका उनले स्वास्नीको पूजा गर्न थालेको कुरा विस्तारै टोलभरी फैलियो । टोलवासीले पानी मरुवा, हुतिहारा, नामर्द, जोइटिंग्रे, लोग्ने जातिको कलंक आदि उपमाले विभुषित गरिदिए । ती सब कुरालाई वेवास्ता गर्दै उनले निरन्तर पूजा जारी राखे । 

कसको कृपा भनौं ? उनको घरमा सुख, शान्ति र सम्वृद्धिको वास भयो । जोइपोइ हसिला र घरका ढुकटीहरु भरिला भएको छिमेकीहरुले चाल पाए । त्यसपछि छिमेकीहरुले पनि विस्तारै आआफ्नी स्वास्नीको पूजा गर्न थाले । 

 

null

अचम्म, उक्त टोलका हरेक घरमा शान्ति छायो । घरको आर्थिक अवस्थामा सुधार आउन थाल्यो । त्यसपछि टोलका पुरुषहरु जागरुक बने । त्यहाँ रहेको आमा समूह भंग गरेर ‘बा’ समूह खोलेर पूरुषहरुले पद बाँडफाँड गरे । स्वास्नीहरुलाई कसरी खुशी राख्ने ? कसरी तिनीहरुलाई शिक्षित, जागरुक र नैतिकवान बनाउने भनेर छलफल चलाउन थाले ।  

त्यस टोलको बारेमा थाहा पाउने बित्तिकै टेलिभिजन, रेडियो र दैनिक पत्रिकाका केही पत्रकारहरु हुल बाँधेर त्यहाँ पुगे । त्यहाँ आएको परिवर्तन र नारी प्रतिको सम्मान देखेर उनीहरु छक्क परे । छक्क पर्नु पर्ने अर्को कारण थियो, त्यस टोलमा कुनै एनजिओ, आइएनजिओ बिनानै त्यत्रो परिवर्तन आएको थियो । यो कसरी सम्भव भयो ? यसको सुरुवात कसले गरेको हो ? यस्ता कुरा पत्रकारका लागि खोजका विषय बने । 

सबै भन्दा पहिले स्वास्नी पूजाको थालनी गर्ने व्यक्तिको घरमा पत्रकारहरु पुगे । टीभीका क्यामेरा र पत्रकारका अगाडि उनी लजाउँदै उभिए । र भने–‘जुन घरमा स्वास्नीको पूजा हुन्छ त्यस घरमा लक्ष्मीको वास हुन्छ भनेर पूजा गरेको होईन । कुनै महिलावादीको दवाब वा स्वास्नीको डरले पनि पूजा गरेको हैन । यीनी मेरी एक्लौटी श्रीमती हुन् र मेरै मात्र रहुन् भनेर पूजा सुरु गरेको थिएँ । मलाई थाहा छैन, हाम्रा टोलवासीले किन ‘बा’ समूह खोलेका हुन् ? किन स्वास्नीको पूजा गरेका हुन् ?’ 

उनको जवाफ सुनेर टोलका पुरुषहरु त्यहाँबाट हिँडे, महिलाहरु लाजले टाउको निहुराए । पत्रकारहरु मरिमरि हाँस्न थाले । बेलायत 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *