इस्लाम परम्परा निभाउने क्रममा २ महिने बालकको ज्यान गयो

 

चैत २६, गौशाला । महोत्तरीमा आफ्नो परम्परा निभाउने क्रममा एक बालकको मृत्यु भएको छ । 

महोत्तरीको लोहारपट्टी नगरपालिका गएराति इस्लाम धर्मको परम्परा निभाउने क्रममा लोहारपट्टी नगरपालिका–५ बस्ने आशिक शेषका २ महिने छोरा फिरोज शेषको मृत्यु भएको हो । 

null

इस्लाम धर्मअनुसार बालक शेषको गएराति खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काटिने काम) गरिएपछि अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। 

खतनाका लागि परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई बाजागाजाका साथ पूजाआजा र भोजभतेरको तयारी गरेका थिए । तर, खतना गर्दा अत्यधिक रक्तश्राव भएको र रक्तश्राव नरोकिएपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा बालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

घटनाबारे विशेष अनुसन्धान गर्न तथा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी ल्याउन जिल्ला प्रहरी कार्यालयले आज बिहान त्यसतर्फ विशेष प्रहरी टोली पठाएको प्रहरी नायब उपरीक्षक खड्काले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *