चिकित्सकद्वारा आन्दोलन अवज्ञा

बर्दिया, २६ चैत्र । मुलुकका सरकारी चिकित्सकहरू आकस्मिकबाहेकका सेवा बहिष्कार गर्दै आन्दोलनमा लागिरहेका बेला बर्दियाका चिकित्सकले भने अवज्ञा गरेका छन् । जिल्लाको ५० शय्याको एक मात्र अस्पताल उपचारका लागि आएका बिरामीले भरिभराउ छ । बहिरंग सेवा (ओपीडी) बिहान १० देखि ४ बजेसम्म नियमित सञ्चालन हुँदै आएकामा बिरामीको चाप बढेपछि साँझ ५ बजेसम्म खुला राखिएको छ । राजापुर तथा छिमेकी जिल्लाका बिरामी उपचारका लागि आएको डा. नेपोलियन दासले बताए । 

जिल्ला अस्पतालमा आईसीयू नभएका कारण सेफसिसका एक बिरामीलाई अन्यत्र रिफर गरिएको उनले जनाए । आईसीयू कक्ष भए जटिल बिरामीलाई अन्यत्र पठाउने अवस्था नरहेको चिकित्सक बताउँछन् । बिरामीको अवस्था र चापलाई मध्यनजर राख्दै अस्पताल सञ्चालनमा ल्याएको चिकित्सकले बताए । गर्मीयाम सुरु भएयता ओपीडीमा दैनिक २ सय ५० मौसमी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । 

सुत्केरी गराउनेदेखि लिएर ठूलासाना शल्यक्रिया र इमर्जेन्सी सेवासमेत करिब ३० देखि ४० बिरामीको उपचार भइरहेको छ । एक चिकित्सकले बिरामीको अवस्था देखेपछि मनले नमानेर बाध्य भई सबै सेवा सञ्चालन गरेको जनाए । सरकारी चिकित्सक संघको आह्वानमा भएको आन्दोलनको प्रभाव जिल्लामा नपरेकोमा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले स्वागत गरेका छन् । बिरामीप्रति देखाएकोसद्भाव र चिकित्सकको आन्दोलनप्रति सकारात्मक रहेका छौं,’ उनले भने, ‘मानवतामुखी चिकित्सकले देखाएकोसद्भावप्रति खुसी छु ।’ 

null

गर्मी मौसमका कारण भाइरललगायत बिरामीले अस्पताल भरिभराउ छ । गर्मीयाम सुरु भएयता भाइरल ज्वरो, झाडापखालालगायत बिरामी बढेका छन् । जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेयले आन्दोलनप्रति ऐक्यबद्धता रहेको बताए । उनले आन्दोलनको अवज्ञा नगरेको तर बिरामीको चापलाई मध्यनजर राखेर सेवा दिएको जनाए । जिल्ला अस्पतालमा १५ चिकित्सकको दरबन्दी भए पनि हाल ४ चिकित्सक कार्यरत छन् । 

मेसु पाण्डेयले ११ औं तहमा एक जना, नवौं र दसौं तहमा ९ जनामध्ये १ जना र आठौं तहमा ४ मध्ये ३ तीन चिकित्सकले अस्पतालमा सेवा दिइरहेका छन् । डेन्टल चिकित्सक ६ महिनाअघि सरुवा भएकामा रिक्त छ । समायोजन भएपछि बर्दिया अस्पताल चिकित्सकविहीन हुने भएको छ । संघअन्तर्गत राखेर प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने मागसहित चिकित्सकहरू शुक्रबारदेखि आन्दोलनमा उत्रिए पनि यसको प्रभाव यहाँ परेको छैन । अध्ययनलगायत वृत्तिविकासको माग चिकित्सकको छ । आजको कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *