अज्ञात समूहद्वारा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आगजनी

 

चैत १७, सङ्खुवासभा । सङ्खुवासभाको सुदूरउत्तरमा पर्ने भोटखोला गाउँपालिकामा शनिबार राति अज्ञात समूहले आगजनी गरेको छ । रातको १२ः३० बजे अज्ञात समूहले भवनमा आगजनी गर्दा गाउँपालिकाका कागजात पूर्णरूपले जलेर नष्ट भएका छन् । 

कार्यालयभित्र रहेको ग्यास सिलिन्डर पड्किएर ठूलो आवाज आएपछि आफ्नो गाउँपालिकामा आगजनी भएको स्थानीयवासीले रातको समयमा देखेका थिए । सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा रहेको सो गाँउपालिका नेपालकै अति दुर्गम गाउँपालिकाको रूपमा चिनिन्छ । 

null

गाउँपालिकामा आगजनी हुनासाथ सदरमुकाम खाँदबारीमा काम विषेशले आएका त्यस गाउँपालिकाका अध्यक्ष पेम्बा भोटे सदरमुकामबाट आगजनीस्थलतर्फ गएका छन् । 

यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले घटना कसले घटाएको हो भन्नेबारे हालसम्म एकिन हुन नसकेको र थप अनुसन्धान भइरहेको जानकारी दिए । घटनास्थलमा नेपाल सरकारको सम्बन्धित निकाय हेलिकप्टरमार्फत त्यस स्थानमा जाने प्रयास भइरहेको छ । 

मौसमको खराबीका कारण हालसम्म हेलिकप्टर जान सकेको छैन । हटियामा रहेको गाँउपालिकाको कार्यालय आगजनी भएपछि भोटखोलाबासीमा सन्त्रास छाएको छ । 

घटना कसबाट घटेको हो भन्नेबारे बृहत् अनुसन्धान भइरहेको र घटनास्थलमा अहिले सेना तथा प्रहरीसहितको संयुक्त टोलीले गस्ती गरिरहेको समेत प्रजिअले जानकारी दिए । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *