सरकारको एकलौटी निर्णयविरुद्ध कांग्रेसले आन्दोलन गर्छः सभापति देउवा

 

चैत २१, विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । 

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले सरकारले जनताको इच्छालाई लत्याएर मनोमानि ढंगले काम गरेको आरोप लगाएका हुन् । 

null

‘सरकारले जनचाहना अनुसार काम गरेको छैन । भ्रष्टाचार, हत्या, हिंसा घट्नुपर्नेमा झन् बढ्दै गएको छ । संवैधानिक परिषदमा सरकारले एकलाैटी निर्णय गरेर नियुक्ती गरिरहेकाे छ । यदि आवश्यता नै पर्‍यो भने हामी आन्दोलन गर्न तयार छौं’, सभापति देउवाले भने । यस्तै उनले न्यायिक क्षेत्रमा सरकारले गरेको नियुक्तिप्रति कांग्रेसको आपत्ति रहेको भन्दै आफ्नो पार्टीले त्यसको विरोध गर्ने बताए । 

सरकारको कामकारवाही फितलो र हस्तक्षेपकारी भएको आरोप लगाउँदै उनले भने, ‘न्यायिक परिषद्ले गर्ने निर्णय राजनीतिभन्दा बाहिर हुनुपर्छ। यस क्षेत्रमा राजनीति हस्तक्षेप हुनुहुँदैन।’ 

आफ्नै पार्टीप्रति असन्तुष्ट रहेका सभापति देउवाले पार्टीका प्रसंगमा बोल्दै जिल्ला सभापतिको निर्णय सामना गर्न तयार रहेको स्पष्ट पार्दै उनले भने, ‘जिल्ला सभापतिहरुले विशेष महाधिवेशन बोलाउने पहल गरे पनि म ‘फेस’ गर्न तयार छु । तर विशेष महाधिवेशन बोलाउँदिन ।’ 

पार्टीको निर्णयप्रति असन्तुष्ट बनेका जिल्ला सभापतिहरुले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनःविचार नभए देशव्यापी हस्ताक्षार अभियान चलाउने तयारी गरिरहेका छन् । 

बुधबारदेखि काठमाडौँमा शुरु भएको जिल्ला सभापतिको दुईदिने अनौपचारिक भेलाका सहभागीले पार्टीको महासमिति बैठकको भावनाअनुसार केन्द्रीय कार्यसमितिबाट निर्णय गराउन नेतृत्वलाई दबाब दिने उद्देश्यले सो अभियान चलाएका हुन् । 

महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूले गरेको प्रतिबद्धताअनुसार केन्द्रीय समितिबाट निर्णय गराउन नसकेको भन्दै जिल्ला सभापतिहरुले नेतृत्वलाई भरथेग गर्न पनि अभियान चलाउनुपर्ने विषयमा छलफल भएको बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *