कविता राईको ‘आमा र जून’ सार्वजनिक

काठमाडौँ, ८ वैशाख । पूर्वी पहाडी जिल्ला भोजपुरकी स्रष्टा कविता राई आफ्नो पहिलो कविताकृतिसहित आएकी छन् । पत्रकारिता र साहित्य लेखनलाई सँगसँगै अगाडि बढाउँदै पछिल्लो समय शिक्षण पेशामा संलग्न रहेकी राईको कविताकृति ‘आमा र जून’ शनिबार सिटीम्याक्स, बागबजारमा भोजपुरका सङ्घीय सांसद सुदन किराती, नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा. हेमनाथ पौडेल, प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव एवम् प्रगतिशील लेखक सङ्घका नवनिर्वाचित अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरी, प्राज्ञ एवम् वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बू लगायतले लोकार्पण गरे । 

 

नेपाली वाङ्मय परिषद्द्वारा आयोजित समारोहमा कृति विमोचनपछि बोल्दै सांसद राईले साहित्यले राजनीतिलाई मार्गदर्शन गर्ने बताए । मेक्सिम गोर्कीले ‘आमा’ उपन्यास लेखेकै कारण रुसमा राजनीतिक परिदृश्य कायापलट भएको र लुसुनको साहित्य र माओको क्रान्ति एकआपसमा अन्तरसम्बन्धित भएको भन्दै उनले समाज परिवर्तन र राष्ट्रको समृद्धिमा साहित्यको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । कविता राईका कतिपय कविताहरू आफ्नै जीवनका बारेमा लेखिएको जस्तो लाग्ने उनले सुनाए । 

null

प्राज्ञ डा. पौडेलले लोकार्पित कृतिभित्र ग्रामीण जीवन र परिवेशको सघनता पाइने बताए । उनले भने, “कविताहरूले मानिसका सपना बोकेका छन् । लोकभावना र लोकसंवेदनालाई सरल ढङ्गबाट प्रस्तुत गरिएको छ ।” 

समालोचक डा. नारायण गडतौलाले लोकार्पित कृतिबारे समीक्षात्मक टिप्पणी गर्दै कविले आफ्नो अन्तरले देखे तथा भोगेको जीवन र सुनेको स्वर्गलाई बुनेर यथार्थ र कल्पनाको सुन्दर कला बुनेको बताए । कृतिभित्रका कविताहरू अब्बल रहेको गडतौलाको ठम्याई थियो । 

प्रा.डा. गिरी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका श्याम तमोट, प्रदेश सभा सांसद राजेन्द्र राई, पूर्व सांसद जयन्ती राई र गीतकार टीका चाम्लिङले कवि राईका कविताहरू सरल र सम्प्रेषणीय हुनुका साथै अब्बल भएको दाबी गरे । 

कार्यक्रममा कविता लेखनको अनुभूतिसहित कृतिकी स्रष्टा राईले ‘बाबा’, ‘रुवाइ’ तथा ‘आमा र जून’ शीर्षकका तीन कविता वाचन गरेर सुनाएकी थिइन् । कवि बाबा बस्नेतले कृतिभित्रको ‘सोल्टीज्यू’ शीर्षक कविता सुनाएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *