हावाहुरी प्रभावित क्षेत्रमा प्रत्यक्ष फिल्डमा जाँदा जे देखियो….(फोटोफिचर सहित)

 

चैत २१, बारा । हावाहुरी प्रभावित जिल्ला बारा– पर्सामा राहत प्रदान गर्न राजनीतिज्ञ देखि विभिन्न संघ संस्थाहरुको ओइरो लागिरहेको छ । हावाहुरीले क्षति पुर्याएको भोलिपल्ट देखि नै राहत लैजाने कार्य भइरहेको छ । 

भूकम्प गएका बेला जस्तै नेपाली–नेपालीबीचको एकता हावाहुरीले पुर्याएको क्षतिपछि पनि देखियो । राहत पुर्याउने, लिनेको त कमि थिएन, सँगसँगै रमिते बन्नेहरुको संख्या पनि उत्तिकै थियो । 

null

पीडितलाई तत्कालका लागि गाँसको आवश्यकतासँगै वासको पनि थियो । पीडितहरु पनि पहिलो प्राथमिकता आवासलाई दिनु पर्ने बताइरहेका थिए । खाद्यान्न पनि प्रशस्तै पुगेको देखियो तर लत्ता कपडा, ओढ्ने, ओछ्याउनेको कमी थियो । राहत लैजानेहरुले खाद्यान्नलाई नै बढी जोड दिएको पाइयो । 

 

हावाहुरी प्रभावित क्षेत्र फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसाद पनि प्रभावित क्षेत्रमा प्रशस्त राहत आएको स्वीकार गर्छन् । ‘देशका विभिन्न क्षेत्रबाट राहत आईरहेका छन्’, गाउँपालिका अध्यक्ष प्रसादले भने, ‘आफुखुसी आएर बाँड्ने धेरै छन् । त्यसैले पनि यसको प्रभावकारिता देखिएन ।’ गाउँपालिकासँगै सम्पर्क गरेर आउनेलाई आफैं खटेर आवश्यकता अनुसार वितरण गरिरहेको उनले बताए । 

 

उनका अनुसार कतिपय ठाउँमा वास्तविक पीडितले राहत पाएका छैनन् । प्रभावित क्षेत्रका भरवलियाका भविछन मुखियाले राहत नपाएको गुनासो गरे । ‘हावाहुरीका कारण घरका केही सदस्य घाईते छन्, अस्पताल बस्नु पर्या छ,’ मुखियाले भने, ‘धेरै संघसंस्था आए तर अहिले सम्म राहत पाउन सकिएन ।’ 

सुरक्षा निकायद्धारा अस्थायी बसोवास व्यवस्था 

सुरक्षा निकायहरु हावाहुरी पछि घरबार विहीन भएका पीडितहरुको बसोवासको व्यवस्था मिलाउन व्यस्त देखिन्थे । नेपाल आर्मी र शशस्त्र प्रहरीले संस्थागत रुपमा टेण्टकाे व्यवस्था गरेर उनीहरुलाई बस्ने र सुत्ने व्यवस्था गरिरहेका छन् । 

नेपाल आर्मी र सशस्त्रको विभिन्न जिल्लाबाट आएका गणहरुले बसोवासको व्यवस्था मिलाएका हुन् । 

 

उनीहरु बिहानदेखि बेलुकासम्म पीडितहरुकाे सहजताका लागि काम गरिरहेका छन् । ‘भोकै पेटमा यहाँका पीडितहरुको उद्धार, बसोवासको व्यवस्थामा खटिएका छाैं,’ नेपाल आर्मीका एक प्रतिनिधिले भने, ‘नेपाली नागरीकको दुःखमा साथ दिन पाउँदा खुसी छौं ।’ 

प्रभावित क्षेत्र भरवलियाका बीर वहादुर मुखियाले सुरक्षा निकायले आफूहरुको पीडामा गरेको सहयोगको प्रशंसा गरेर नसकिने बताए । 

आइतबार साँझ (चैत १७ गते) आएको हावाहुरीमा परी बारा–पर्सामा २८ जनाको मृत्यु भएको थियो भने ६ सय बढी घाइते भएका थिए । हावाहुरीले त्यहाँका १ हजार ४० घरमा क्षति पुगेको छ । प्रदेश २ सरकारले पीडित परिवारलाई ३–३ लाख रुपैयाँ राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त सबै घरहरु ४ महिनाभित्र बनाइसक्ने घोषणा गरेको छ । 

 

यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि मृतकका परिवारलाई ५–५ लाख राहत उपलब्ध गरराउने घोषणा गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाले २५ लाख उपलब्ध गराउने घोषणा गरेका छन् । अन्य संघ संस्थाहरूबाट पनि राहत आउने क्रम जारी नै छ । 

सूदुरपश्चिम र प्रदेश ३ सरकारले पनि पीडित परिवारका लागि १–१ करोड राहत उपलब्ध गराउने घोषणा गरेको छ । नेकपा र कांग्रेस सांसदहरुले आफ्नो व्यक्तिगत तलबको केही अंश हुरीप्रभावितलाई दिने घोषणा गरेका छन् । तर जति राहतको घोषणा गरेपनि त्यहाँको अवस्था दयनीय नै छ । कति पीडित परिवारले राहत नै पाएका छैनन् । सरकारले यसतर्फ ध्यान दिन जरुरी छ । 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *