रत्ननगर नगरपालिकाद्वारा पहिलो चरणमा तीन ठुला पूर्वाधार निर्माण सुरु 

 

फागुन २०,चितवन । रत्ननगर नगरपालिकाले नगरवासीलाई विकासको अनुभूति हुने गरी पहिलो चरणमा तीन ठुला पूर्वाधार निर्माण सुरु गरेको छ । नगरपालिकाले केन्द्र र प्रदेश र आफ्नै लगानीमा ठूला योजना निर्माणलाई तीब्रता दिएको हो । 

ठूला योजना अन्तर्गत रत्ननगर ५ मा नेपाल केन्द्रीय कृषि सहकारी तालिम केन्द्र तथा प्रशासनिक भवन, वडा नम्बर ९ मा टिकौली इको कल्चरल पार्क र वडा नं १ मा रत्ननगर सभा हल निर्माणको काम भइरहेको मेयर नारायण वनले जानकारी दिए । 

null

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत टरौलीमा केन्द्रीयस्तरको तालिम केन्द्र निर्माणको काम सुरु भएको छ । २ करोड ३५ लाखको लगानीमा निर्माण हुने सो तालिम केन्द्रमा सहकारी सम्वन्धी राष्ट्रिय स्तरका तालिम,गोष्ठी र प्रशिक्षण हुने छ । यस अघि बनेका दुई वटा भवनको माथिल्लो तला उठाउने र एउटा नयाँ भवन निर्माण गर्ने योजना रहेको रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकासचन्द्र ढुंगानाले जानकारी दिए । 

सो काम निर्माणका लागि टेण्डर आह्वान भइसेको र चालु आर्थिक बर्षको असार सम्ममा निर्माण कार्य सम्पन्न गर्न योजना रहेको इन्जिनियर ढुंगानाले बताए । भवन निर्माण भइसकेपछि नेपाल केन्द्रीय सहकारी संघको कार्यालय समेत सोही ठाउँमा रहने बताइएको छ । 

शहरी विकास मन्त्रालयको लगानीमा रत्ननगर १ भक्तिनीमा बहुआयमिक रत्ननगर सभाहल निर्माण भइरहेको छ । १८ करोडको लगानीमा ५०० क्षमताको सभाहल निर्माण भइरहेको छ । ४ तले भवनमा एउटा ठुलो र तीन वटा मिनीहल निर्माण हुने छ । सो सभाहल निर्माण भएपछि सौराहाको पर्यटनमा समेत सकारात्मक प्रभाव पर्ने मेयर वनले बताए । सो सभाहलका कारण रत्ननगरमा राष्ट्रिय स्तरका कार्यक्रमहरु रत्ननगरमा हुने र आन्तरिक पर्यटन प्रर्बद्धन हुने उनको भनाई छ । 

भवन निर्माण पुरा भएपछी मन्त्रालयले रत्ननगरलाई हस्तान्तरण गर्ने र त्यसको सञ्चालन नगरपालिकाले गर्ने छ । उता नगरपालिकाले पर्यटनको नयाँ गन्तव्यको रुपमा टिकौलीमा इको कल्चरल पार्क निर्माणलाई अगाडि बढाएको छ । नगरपालिकाको ५० लाख प्रदेश सरकारको ५० लाखको लगानीमा पार्क निर्माण गर्न लागिएको मेयर वनले बताए । यस अघि नगरपालिकाले करिव ५० लाख खर्चेर पूर्वाधार निर्माण गरिसकेको छ । 

सो पार्क भित्र आदिवासी थारु, मगर, गुरुङ, तामाङ, दराई, चेपाङ र कुमाल समुदायका परम्परागत साँस्कृतिक घर निर्माण गरिने छ । पार्कसँगै आर्कषक होमस्टे निर्माण गर्ने योजना रहेको मेयर वनले बताए । नेपालकै नमूना पार्क निर्माण गर्ने र होम स्टे सञ्चालन गरेर आदिवासी समुदायका आयआर्जन गर्ने योजना रहेको उनले बताए । 

निर्माणको क्रममा रहेका तीन ठूला योजना रत्ननगरको सम्पत्तीको रुपमा रहने मेयर वनले बताए । नगरपालिकाले चालु आर्थिक बर्षमै टिकौलीमा छाडा पशुको व्यवस्थापनको लागि गौशाला, टाँडीचोकका आकासे पुल, सौराहामा पर्यटकीय बसपार्क, सिटीहल, सुचना केन्द्र र भ्यू टावर निर्माण गर्ने योजनाका साथ केन्द्र, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरिसकेका छन । 

सौराहाको पर्यटनलाई लक्षित गरी निर्माण गर्न लागिएको उक्त योजनाहरु अहिले सम्म निर्माण सुरु हुन सकेको छैन । चालु आर्थिक बर्षमा निर्माण सुरु हुन नसके बजेट फ्रिज हुने भएकाले अबको चार महिना भित्र उक्त योजनाको निर्माण कार्य सुरु गर्ने पर्ने दवावमा नगरपालिका परेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *