पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन चितवनका जनप्रतिनिधिको र्याफ्टिङ


चितवन, २६ फागुन । चितवनको पर्यटकीय क्षेत्रको प्रचारसंगै पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन चितवनका सरोकारवालाले त्रिशुली नदीमा र्याफ्टिङ गरेका छन् । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा चितवनका जनप्रतिनिधि, व्यवसायीहरुले नदीमा र्याफ्टिङ गरेका हुन् ।
चितवनमा पर्यटकीय क्षेत्र धेरै छन् भन्नको लागि यस्तो कार्यक्रमले धेरै मद्दत गर्ने ३ नं. प्रदेश सांसद कृष्णप्रसाद खनालले बताए । ‘काठमाण्डौबाट आउने पर्यटकहरु त्रिशुली नदीमा र्याफ्टिङ गर्दै नारायणगढ पुग्न सकिने सन्देश यस कार्यक्रमले दिन्छ ।’ सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउन यस्ता कार्यक्रमले धेरै मद्दत गर्ने उनको भनाइ छ ।
null
र्याफ्टिङमा सहभागी हुनु भएका जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जिल्लामा धेरै पर्यटकीय भए पनि प्रचार भने हुन नसकेको बताए ।’ त्रिशुली नदीमा जलयात्रासंगै सौराहा, मेघौली, पटिहानी, चितवन राष्ट्रिय निकुञ्ज लगायतको पर्यटकीय स्थानको प्रचार हुने उनको भनाइ छ । समन्वय समितिले पर्यटन वर्ष सफल पार्नको लागि चैत्रको पहिलो हप्ता जिल्लाका पर्यटकीय स्थानको बारेमा सार्वजनिक गर्ने तयारी रहेको बताए ।
जलयात्राले जिल्लाको नयाँ पर्यटकीय क्षेत्रको प्रचारसंगै जिल्लामा धेरै पर्यटक आउनेमा विश्वस्त रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । पर्यटन व्यवसायी, जनप्रतिनिधिहरु, उद्योगीहरु सहितको ३५ जनाको टोलीले त्रिशुलीमा जलयात्रा गरेको हो । धादिङको चरौदीबाट शुरु भएको यात्रा फिसलिङमा आएर बास बसेको छ । भोली पुन र्याफ्टिङ गरेर मुग्लिनसम्म आउने तयारी रहेको टोलीले जनाएको छ । चितवनका जनप्रतिनिधिहरु त्रिशुली नदीमा र्याफ्टिङ गर्दै, पर्यटन वर्ष २०२० सफल बनाउने उद्देश्य रहेको बताए ।
