नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने

मकवानपुर । नारायणी यातायात व्यवसायी सङ्घले सामाजिक कार्यका लागि नयाँ एम्बुलेन्स खरिद गर्ने भएको छ । सङ्घको ३७औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण र पदस्थापन समारोहमा उक्त निर्णय गरी घोषणा गरिएको हो ।

यहाँस्थित सङ्घको मुख्य कार्यालयमा आयोजित समारोहमा प्रमुख निर्वाचन अधिकृत तथा वरिष्ठ अधिवक्ता ईश्वरराज ढकालले नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनाललाई पद तथा गोपनीयताको शपथ गराए । अध्यक्ष खनालले अन्य पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको शपथ गराएका थिए ।

सङ्घका निवर्तमान अध्यक्ष हीरालाल श्रेष्ठले यातायात क्षेत्रलाई व्यवस्थित र व्यवसायीमैत्री बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । नवनिर्वाचित अध्यक्ष खनालले यातायात व्यवसायीले भोग्नु परेको समस्या समाधान गर्दै व्यावसायिक हकहित संरक्षण, यातायात व्यवस्थापन र सेवा सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मकवानपुर निर्माण व्यवसायी सङ्घका अध्यक्ष बालगोपाल कँडेल, नारायणी यातायात व्यवसायी सङ्घका पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाईलगायतले शुभकामना दिएका थिए । अध्यक्ष खनालका अनुसार सङ्घले सञ्चालन गरिरहेको एम्बुलेन्स पुरानो भएकाले नयाँ ल्याउने निर्णय गरिएको हो ।

सामान्यतः एम्बुलेन्स १० वर्षसम्म मात्र सञ्चालन गर्न पाइन्छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पुराना एम्बुलेन्सलाई क्रमशः प्रतिस्थापन गर्नुपर्ने नीति अगाडि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 5 =