नेपाली इतिहासका ‘विप्लपुरुष चन्द्रबहादुर थापा’ मंगलबार सार्वजनिक

काठमाडौं, ६ चैत्र । नेपाली इतिहासका ‘विप्लपुरुष’ चन्द्रबहादुर थापाको जीवनीमा आधारित स्मृतिग्रन्थ सार्वजनिक भएको छ । नेपाली सेनाको लेफ्टिनेन्ट कर्णेल, नेपाल प्रहरीको इन्चार्ज, निजामतितर्फ सचिव, मुख्य सचिव एवं पहिलो महालेखा परिक्षक बनेर इतिहास बनाएका थापाको जीवनीमा आधारित स्मृतिग्रन्थ ‘विप्लपुरुष चन्द्रबहादर थापा’ सार्वजनिक भएको हो । मंगलबार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित भव्य समारोहमा वर्तमान महालेखा परिक्षक टंकमणि शर्मालगायतले पहिलो महालेखा परिक्षक थापाको स्मृतिग्रन्थ सार्वजनिक गरेका हुन् । 

 

वन मन्त्रालयमा सचिव रहँदा ‘हरियो वन, नेपालको धन’ नारा शुरु गरि वन संरक्षणमा विशेष योगदान गरेका थापा विस २०११ मा भ्रष्टचार निवारण कार्यालयको प्रमुख र २०१२ मा मुख्य सचिव बनेका थिए । २०१६ सालमा पहिलो महालेखापरिक्षक बनेर थापाले देशको आर्थिक अनुशासन कायम राख्न महत्वपूर्ण योगदान दिएका थिए । वि स १९५८ भदौमा काठमाडौंको गोकर्णमा जन्मिएका थापाको विस २०२३ मा निधन भएको थियो । विभिन्न उच्च ओहदामा रही राष्ट्रको सेवा गरेवापत उनलाई त्रिशक्तिपट्ट, गोरखा दक्षिणवाहु, ॐ राम पट्ट, नेपाल श्रीपद आदिबाट सम्मानित गरिएको थियो । 

null

 

नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘विप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै महालेखा परिक्षक टंकमणि शर्माले तात्कालीन शासकीय व्यवस्था, लेखापरीक्षणको शुरुवाती स्थिति र विधि तथा पद्दतिको अभावमासमेत लेखापरीक्षणको स्वतन्त्रतासम्बन्धमा स्पष्ट अडानसहित लेखापरीक्षणबाट निस्केका नतिजाहरु निर्भिकताका साथ राष्ट्रप्रमुखसमक्ष पेश गर्ने थापाको अदम्य साहस र भूमिकाको प्रशंसा गरेका थिए । 

लेखा परीक्षणमार्फत सुधारका कार्यमा थापाले देखाएका साहस र भूमिका हाम्रा लागि सदैव प्रेरणाको स्रोत बनिरहने कुरामा जोड दिँदै शर्माले आफूले प्रथम महालेखा परीक्षक थापाले स्थापित गरेका पद्धतिलाई अँगाली उनकै मार्गमा हिँडिरहेको स्पष्ट पारे । 

 

थापा नेपालको पहिलो महालेखापरीक्षक र म संघीय गणतान्त्रिक व्यवस्थाको पहिलो महालेखापरीक्षक भएको छु भन्दै उनले जुन साल थापा महालेखापरीक्षक भएका थिए त्यही साल आफ्नो जन्म हुनु सुखद संयोग भएको बताए । थापाले उसवेला तयार पारेको प्रतिवेदन र हाल मैले तयार पार्ने प्रतिवेदन उस्तै रहेको, त्यसबेला सरकारी साइकल, मोटरसाइकल बेरुजु हुन्थ्यो भने अहिलेको अवस्थामा प्राडो, हेलिकोप्टरको बेरुजु हुने बताउँदै शर्माले यस स्मृतिग्रन्थ आम नेपालीका लागि मार्गदर्शक बन्ने कुरामा जोड दिए । 

एक प्रसंगमा महालेखा परिक्षक शर्माले थापा सैनिक सेवामा जर्नेल भएर पछि महालेखा परिक्षकमा नियुक्ति भएकोले त्यसपछिका महालेखा परिक्षकलाई समेत जर्सापको सम्वोधन गर्ने गरिएको खुलासा गरे । राज्यले अहिले थापाको जीवनी पढाउनु आवश्यक रहेको जोड दिँदै शर्माले थापा राज्यको एक पैसा पनि हिनामिना भएको सहन नसक्ने व्यक्तित्व भएको र उनी जस्तै व्यक्ति अहिले ठूलो खाँचो रहेको दावी गरे । 

 

कार्यक्रमका विशेष अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीले थापा जस्ता व्यक्ति इतिहासमा मात्र सीमित बन्न नहुने बताए । उनले प्रतिष्ठान बनाएर थापाको व्यक्तित्व र कृतित्वलाई जीवन्त बनाउनु पर्नेमा जोड दिए । कुलपति उप्रेतीले चन्द्रबहादुर थापाको योगदान र उनले गरेका कामहरु हामी सबैका लागि प्रेरणादायी भएको भन्दै विप्लपुरुष चन्द्रबहादुर थापा स्मृति ग्रन्थले चन्द्रसमान उज्यालो छर्नेमा आफू विश्वस्त रहेको बताए । 

कार्यक्रममा पूर्व गर्भनर हिमालय शमशेर जवराले थापा आफ्नो काममा कर्तव्यनिष्ठ भएर लाग्ने व्यक्तित्व रहेका भन्दै उनीसँगको केही सम्झनाहरु सुनाएका थिए । जबराले चन्द्रबहादुर थापासँग एउटै कार्यकालमा रहँदा उनले गरेका उदाहरणीय कार्यको स्मरण गर्दै थापा जुनसुकै क्षेत्रमा पनि अब्बल रहेको कुरा बताएका थिए । 

थापा तत्कालीन सरकारको मुख्य सचिव रहेकाबेला आफूले राती सिंहदरवारबाट हिड्दै घरतिर गएको भेटेको स्मरण गर्दै जवराले मन्त्रिपरिषदको निर्णय सोही दिन मुख्य सचिव रहेका बेला थापाले अबेरसम्म काम गरेर मात्र सिंहदरवारबाट हिडेर घर पुग्ने गरेको बताए । 

एकपटक सिंहदरवारबाट राती अबेर हिड्दै घर जान लागेका बेला भेटेको सुनाउँदै त्यतिबेला थापाले मन्त्रिपरिषदको बैठक अबेरसम्म बसेको र सो बैठकका निर्णयहरु लेख्दा आफूलाई अझ रात परेको सुनाएको स्मरण गरे । तर, अहिले भने सामान्यभन्दा सामान्य काममा पनि सरकारी सम्पतिको दुरुपयोग हुने गरेको उनको भनाई थियो ।कार्यक्रममा स्वागत मन्तव्य दिँदै चन्द्रबहादुर थापाका नाति डा. बिजयकुमार थापाले ग्रन्थ प्रकाशन गर्नुको मूल उद्देश्यको बारेमा बताउँदै उनको नाममा स्मृति प्रतिष्ठान खडा गरी प्रतिष्ठानबाट वर्ष वेस्ट अडिटरलाई पुरस्कार स्थापना गर्ने योजना रहेको कुरा बताएका थिए । 

कार्यक्रममा ग्रन्थको समीक्षा गर्दै साहित्यकार एवं नायवमहालेखापरीक्षक दामोदर पुडासैनीले नेपालका प्रथम महालेखापरीक्षकका विषयमा आधारित यस ऐतिहासिक ग्रन्थ विप्लपुरुष चन्द्रबहादुर थापा वर्तमान महालेखापरीक्षकबाट लोकार्पण हुनु नै महत्वपूर्ण भएको जानकारी गराउँदै यस ग्रन्थबाट चन्द्रबहादुर थापाका विषयमा वर्तमान आम पिँढीले शिक्षा लिने र उनको मार्गदर्शनमा हिँड्न प्रेरणा मिल्ने बताए । 

५२ वर्ष अघि निधन भएका थापाको विषयमा लेखिएको यस ग्रन्थ निष्पक्षतामा आधारित रहेको कुरा ग्रन्थमा संग्रहीत केही उनका विरुद्धमा लेखिएका लेखहरुले पनि स्पष्ट पारेको उनको भनाइ थियो । रामायणलाई छोटकरी रामायणको रुपमा पुस्तकसमेत प्रकाशन गरेका थापा नेपाली साहित्यिक क्षेत्रमा उत्तिकै योगदान गरेका व्यक्ति भएको र प्रस्तुत ग्रन्थ प्रकाशन नेपाली बाङमय क्षेत्रमा कोशेढुंगा सावित भएको कुरा बताए । 

कार्यक्रममा पुस्तकमाथि दामोदर पुडासैनीले पुस्तकको समीक्षा गरेका थिए भने थापाको व्यक्तित्वका बारेमा पूर्व सचिव युवाराज भुषाल, डा. नारायणप्रसाद, सहायक रथी गणेशबहादुर भण्डारी, भगवती दास श्रेष्ठलगायतले थापाका बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने अधिकांश व्यक्तिहरुले ‘बिप्लपुरुष चन्द्रबहादुर थापा’ कृति र यस कृतिका प्रमुख पात्र चन्द्रबहादुर थापाका बारेमा चर्चा गरेका थिए । 

यो कृति कलाकार तथा साहित्यकार रमेश दाहालले सम्पादन गरेका हुन् । ३२४ पेजको यस पुस्तकमा ४० जना लेखकले थापासँग जोडिएका स्मृति र उनको व्यक्तिमाथि प्रकाश पार्दै लेखेका छन् । पुस्तकमा पूर्वप्रधानमन्त्रीहरु विपि कोइराला, सूर्यबहादुर थापा, डा. केआई सिंहदेखि अहिलेका चर्चित लेखक सौरभ र पत्रकार भैरव रिसालसम्मले थापाका बारेमा लेखेका लेख तथा संस्मरणहरु संग्रहित गरिएको छ । 

पुस्तकले तत्कालीन नेपालको प्रशासनिक संरचना, सो संरचनाभित्र रहेको संस्कार, कार्यशैलीलाई राम्रोसँग चित्रण गर्ने पुस्तकका सम्पादक रमेश दाहाल बताउँछन । उनी नेपालको प्रशासनिक संस्कार, कार्यशैली तथा नेपालको भ्रष्टाचारलाई अध्ययन गर्ने हो भने यो पुस्तक अध्ययन गर्नु आवश्यक रहेको उनको दावी थियो । 

दाहालले विकृति र विसंगतिका एन्टिवायोटिक, निर्भीक, निष्ठाका नायक एवं जीवनपर्यन्त नेपाल राष्ट्रको पहरेदारको रुपमा रहेका चन्द्रबहादुर थापालाई यस ग्रन्थमार्फत विप्लपुरुषको संज्ञा दिइएको र आजउपरान्त उनीँ विप्लपुरुष चन्द्रबहादुर थापाका नामले चिनिने बताउँदै यो उपमा उनकै व्यक्तित्वले सिर्जना गरेको बताए । 

सम्पादनका क्रममा ग्रन्थलाई सिँगार्न कुनै पनि कसर बाँकी नराखेको र थापाको जीवनवृत्तान्त देखि विभिन्न आठ खण्डमा विभिन्न व्यक्तित्वका लेखहरु र थापाको वंशावलीसमेत रहेको हुँदा यस ग्रन्थ पूर्ण स्मृतिग्रन्थको रुपमा प्रकाशन भएको कुरा दावी गरेका थिए । करिब एक वर्षभन्दा अघिदेखि आफूले सम्पादनको कार्य थालेको विप्लपुरुष चन्द्रबहादुर थापा ग्रन्थ अत्यन्त पठनीय भएको र विकृति र विसंगतीले ग्रस्त अहिलेको परिस्थितिमा ग्रन्थ मार्गदर्शक बन्ने बताएका थिए । 

स्वर्गीय थापा नेपाली सेनाको तत्कालीन श्रीनाथ पल्टनको लेफ्टिनेन्ट, नेपाल सरकारका मुख्य सचिव, महालेखा परिक्षक सहित विभिन्न निकायका प्रमुख भएर काम गरेका थिए । प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा चन्द्रबहादुर थापाका नाती डा. विजयकुमार थापाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन प्रा.रामप्रसाद दाहालले गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *