वीपी प्रतिष्ठानका यी भाइरसलाई कसले गर्ने कारवाही ?

 

फागुन २२, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई सिनेटले बर्खास्त गर्न सिफारिस गरेर कानुनी शासनको उदाहरण पेश गरेको छ । गत साता प्रतिष्ठानको ४२ औं सिनेटले प्रतिष्ठानमा बढ्दो भ्रष्टाचारको जड उपकुलपति भएको ठहर गर्दै उनलाई पदबाट बर्खास्त गर्न सिफारिस गरेर ‘भ्रष्टाचारीलाई कहिँकतै ठाउँ छैन’ भन्ने नजीर समेत स्थापित गर्न सफल भयो । 

प्रतिष्ठानको २६ वर्षे इतिहासमा पहिलो पटक उपकुलपतिलाई बर्खास्त गर्नु परेको हो । यसर्थ, उपकुलपति डा. रौनियारको नियुक्ति र बर्खास्त प्रतिष्ठानको इतिहासमा सबैभन्दा अयोग्य उपकुलपति सावित भए । 

null

तथापि, प्रतिष्ठानमा उपकुलपति एक्लैले भ्रष्टाचार गरे त ? उनलाई बर्खास्त गर्दैमा प्रतिष्ठानबाट भ्रष्टाचारको अन्त्य भएर कानुनी शासन कायम होला त ? यी प्रश्नका उत्तर खोज्नुपर्ने बेला भएको छ । 

उपकुलपति नै प्रतिष्ठानको सर्वेसर्वा हुने भएकोले त्यहाँ भएका राम्रा नराम्रा कामको जस पनि उपकुलपतिले नै लिनुपर्ने हुन्छ । तथापि, वीपी प्रतिष्ठान धरासायी हुनुमा उनीमात्र दोषि छैनन् । उनका हरेक निर्णयमा पड्के साक्षी भएर साथ दिनेहरु पनि उत्तिकै दोषि छन् । 

मकालु खबरले विगत १८ महिनादेखि प्रतिष्ठानमा भए गरेका राम्रा नराम्रा हरेक विषयलाई उठान गर्दै आइरहँदा अनेक टिकाटिप्पणी भए । थोरैले नकारात्मक टिप्पणी गरे । धेरैले भ्रष्टाचारको भण्डाफोर गरेको भन्दै वाहवाही गरे । 

मकालु खबरले १८ महिना सम्म एउटै विषयमा फलोअप गर्दा त्यसलाई राष्ट्रिय विषय बनाएर सरकारसम्म पुर्याउन सफल भयो । वीपीमा मौलाउँदो ‘लूटतन्त्र’ लाई तहसनहस गर्न मकालु खबरले चालेको अभियानले यतिबेला सार्थकता पाएको छ । प्रतिष्ठानको ४२ औं सिनेटले ‘लूटतन्त्र’ का नाइकेलाई कारवाही गर्ने हिम्मत गर्यो ।वीपी प्रतिष्ठानका उपकुलपतिलाई मात्रै सिनेटले बर्खास्त गर्दैमा वीपी प्रतिष्ठानको वेथिति हल हुने हैन । शुशासन कायम हुने पनि हैन । उपकुलपति ‘लूटतन्त्र’ एक नाइके मात्र हुन्, तिनका अगाडी पछाडी उभिएर ‘लूटतन्त्र’ मच्चाउने भाइरसहरुलाई समेत सार्वजनिक गर्न आवश्यक छ । उपकुलपतिका अघिपछि लागेर प्रतिष्ठान ध्वस्त बनाउनेको संख्या दर्जन छ । अब सरकारको ध्यान त्यसतर्फ जान आवश्यक छ । 

प्रतिष्ठानमा दिउसै रात पारेर ‘लूटतन्त्र’ मच्चाउनेका विरुद्ध आवाज उठिरहँदा केहि ‘लूटतन्त्र’ का अंशियार खुलेआम आफुलाई सत्यवादी हरिश्चन्द्र भन्दै हिँडिरहेका छन् । प्रतिष्ठानकै तलब भत्ता र सुविधा लिएर प्रतिष्ठान भित्रै ‘लूटतन्त्र’ मच्चाउनेमा प्रतिष्ठानमा अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर शाह एक नम्बरमा आउँछन् । उपकुलपति डा. रौनियारलाई करिब ४ करोड नजराना बुझाएर नियुक्ति लिएका डा. शाहले अस्पताल निर्देशक भएर प्रतिष्ठानले खरिद गर्ने औषधी उपकरणमा ब्यापक कमिसन खाने गरेको गुनासो सप्लायर्सहरुको छ । 

 

‘पछिल्लो डेढ वर्ष यता प्रतिष्ठानले टेण्डर प्रक्रियाबाट भन्दापनि खुद्रे कोटेशनका आधारमा औषधी उपकरण खरिद गर्ने गरेको छ । प्रतिष्ठानले खरिद गर्ने यस्ता औषधी उपकरण पनि एउटै ब्यक्ति र फर्मबाट खरिद गर्ने पाइएको छ ।’ स्रोत भन्दछ । 

अस्पताल निर्देशक हुँदा आफ्नो नियुक्तिमा ५० लाख सहयोग गरेका मेडिकल माफिया बेणु कोइरालालाई डा. शाह र उपकुलपतिले प्रायः टेण्डर दिने गरेका छन् । बेणु कोइरालाका अनेकौं फर्म मार्फत करोडौंका उपकरण र औषधीजन्य सामग्री कोटेसन मार्फत खरिद गरि प्रतिष्ठानको करोडौं घोटाला गरेका छन् । डा. शाहले अस्पताल फार्मेसी सञ्चालनका नाममा व्यवसायीबाट लाखौ असुलेको, आफ्नै कार्यकक्षमा प्रतिष्ठानका कर्मचारीलाई आमचकारी गाली गर्दै हातपात गरेको तथा अनावश्यक कारवाही गर्ने गरेको, उपकुलपतिको निर्देशनमा रजिष्ट्रार तुलबहादुर श्रेष्ठको अधिकार समेत प्रयोग गरेको आरोप छ । यतिमात्रै हैन डा. शाहले पदीय आचरण विपरित तरहराको ‘लामा सेकुवा पसल’ को एक तला माथी बसेर मदिरापान गर्दै कार्यालयका महत्वपूर्ण निर्णयहरु गरेको आरोप स्वयं प्रतिष्ठानका कर्मचारीहरु लगाउँछन् । 

प्रतिष्ठानमा ‘लूटतन्त्र’ मच्चाउने अर्का ब्यक्ति हुन्, सहायक अस्पताल निर्देशक डा. विकास शाह । यिनी पहिला उपकुलपति डा. रौनियारका अघिपछि वडिविल्डरका रुपमा डुल्दथे । उपकुलपतिलाई परेको बेला मनी र मसल्स समेत प्रयोग गर्न तत्पर डा. शाहलाई उपकुलपतिले नै सहायक अस्पताल निर्देशक बनाइदिए । 

 

प्रतिष्ठानका सिनियर डाक्टरहरुलाई पाखा लगाएर उपकुलपतिको इसारामा आएका उनी उपकुलपति र अस्पताल निर्देशकका सबै अनियमितताका योजनाकार हुन् । डा. शाह बोलपत्र मुल्याङ्कन समितिको सदस्य समेत भएकोले समितिका अन्य सदस्यलाई डर त्रास देखाई विभिन्न कोटेसनमा अनियमित तरिकाले मुल्यांकन गर्ने गर्दछन् । डा. शाहले उपकुलपतिको जासूसको भूमिकामा रही सहकर्मी शिक्षक तथा कर्मचारीलाई अनावश्यक दुःख समेत दिने गरेका छन् । 

उपकुलपति डा. रौनियारका अर्का विस्वासपात्र ब्यक्ति हुन् डेण्टल कलेजका डा. मन्नुविक्रम रौनियार । यिनले प्रतिष्ठानका चिकित्सक, कर्मचारीले उपकुलपति र अस्पताल निर्देशकका बारेमा केके कुरा बोल्छन्, ती सबै सुचना पुर्याउने गर्दछन् । 

 

यिनले डेण्टल सम्बन्धि उपकरणमा विभिन्न सप्लायर्ससँग मिलेर उपकुलपतिका लागि वार्गेनिङ गर्ने गरेको स्रोतको दावि छ । यसका अलावा यिनले गण्डकी मेडिकल कलेजका मालिक मेडिकल माफिया खुमा अर्यालका लागि काम गर्छन् । यिनले केहि समय अघि प्रतिष्ठानमा केहि चिकित्सकलाई एलइडी समेत निःशुल्क वितरण गरेका थिए । 

डा. रौनियार प्रतिष्ठानमा जनरल ओपिडीमा विरामी नहेर्ने चिकित्सकमा पर्दछन् । यिनी जनरल ओपिडीमा आएका विरामीलाई पेयिङमा आउन निर्देशन दिन्छन् । 

 

प्रतिष्ठानले निर्माण गर्ने विभिन्न भवन निर्माणको लागत इष्टिमेट तथा सिभिल इन्जिनियरिङका काममा ठेकेदारसँग मिलेर कमिसन खाने ब्यक्ति हुन् इ. मदन शाह । प्रतिष्ठानमा निर्माण भइरहेका विभिन्न भवनका ठेकेदारसँग इ. शाहले डाइरेक्ट कमिसन वार्गेनिङ गर्ने गरेका छन् । 

 

प्रतिष्ठानमा हुने अनियमिततामा उपकुलपतिलाई सहयोग गर्ने मुख्य ब्यक्तिमा पर्दछन्, डा. प्रभात रंजन पोखरेल । यिनकै योजनामा उपकुलपतिले १२ करोडको एमआरआई लाई १८ करोड लगाएका थिए । यिनी प्रतिष्ठानमा कर्मचारी, चिकित्सकले आन्दोलन गरे वा तनाब उत्पन्न भए बाहिरबाट गुण्डाहरु परिचालन गर्न सक्रिय हुन्छन् । 

उपकुलपतिका ‘लूटतन्त्र’मा साथ दिने अर्का सहयोगी हुन्, प्रतिष्ठानको नाक कान घाँटीमा कार्यरत डा. शंकर शाह । सुनसरी दुहवीका डा. शंकर शाहले एमविविएस र एमडि एमएस इन्ट्रान्समा भारतीय विद्यार्थीसँग डील गर्ने काम पाएका छन् । 

 

प्रतिष्ठान स्रोतका अनुसार डा. शाहले उपकुलपतिकै निर्देशनमा विराटनगरको एक होटलमा भारतीय विद्यार्थीसँग ठूलो डील गरेका थिए । यिनले आफ्नै विभागका विभागीय प्रमुख डा. श्याम थापा र अर्का डाक्टर बजरंग शाहलाई समेत थर्काउने गरेका छन् । स्रोतका अनुसार केहि दिन अघि डा. बजरंग शाहको गाडीको सिसा अज्ञात ब्यक्तिले फुटाएकोमा उक्त काण्ड डा. शंकर शाहले नै गराएका थिए । 

प्रतिष्ठान भित्र प्रत्यक्ष राजनीति घूसाउने र उपकुलपतिका पक्षमा आन्दोलन गर्न कर्मचारीलाई उक्साउने मुख्य योजनाकारका रुपमा राजन कोइरालालाई लिइन्छ । प्रशासनिक सहायकको पदमा कार्यरत कोइरालाले प्रतिष्ठान भित्र कर्मचारी कल्याण तदर्थ समिति खडा गरेका छन् । 

 

यिनले सोहि संगठन मार्फत उपकुलपतिका पक्षमा कर्मचारी भेला गराइ आन्दोलन गर्ने, उपकुलपतिका विरुद्ध कोहि आए त्यसलाई ठेगान लगाउने सम्मका हर्कत गर्ने गर्दछन् । कोइरालाको शैक्षिक प्रमाणपत्र नक्कली भएको सम्बन्धमा अख्तियारले छानविन गरिरहेको छ । यिनले डा. रौनियारको पैसा खर्च गरेर अबैधानिक कर्मचारी संगठन चलाउने गरेका छन् । 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १ नं. प्रदेशकै सुविधा सम्पन्न स्वास्थ्य संस्था भएपनि भ्रष्टाचारीको अखडा बन्दा स्वास्थ्य सेवासँगै चिकित्सा शिक्षा समेत कमजोर बन्दै गएको छ । 

अब, प्रतिष्ठानलाई पुनः चलायमान बनाउन र प्रतिष्ठानको गुमेको साख फिर्ता ल्याउने हो भने, माथि उल्लेखित पदाधिकारी र कर्मचारीका श्री सम्पत्ति समेत छानविन गरी अनुसन्धान गर्न जरुरी छ । प्रतिष्ठानका उपकुलपतिलाई मात्र कारवाही गर्दैमा प्रतिष्ठान सुध्रिन्छ भन्नु दिवा स्वप्न हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *