आज नेपाली कामदार जापान लैजानेबारे श्रम सम्झौता हुँदै

काठमाडौं, ११ चैत्र । नेपाली श्रमिकहरुलाई सरकारी तह मार्फत जापान लैजाने सम्बन्धमा नेपाल र जापानबीच आज दुई पक्षीय सम्झौता हुने भएको छ । जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ लगायत एक दर्जन भन्दा बढी क्षेत्रमा काम गर्नका लागि नेपाली श्रमिकहरु लैजान लागेको हो । 

जापानले नेपाल बाहेक म्यान्मार, थाइल्याण्ड लगायतका देशबाट समेत श्रमिक लैजाने बताइएको छ । भाषाको ज्ञान तथा सम्बद्ध क्षेत्रको अनुभवका आधारमा उनीहरुले तोकिएको काम पाउन सक्नेछन् । 

 

null

यसअघि विभिन्न कन्सल्टेन्सी र म्यानपावर कम्पनीबाट जापान जानको लागि २० लाख रूपैयाँसम्म सर्वसाधारणले खर्च गर्ने गरेका थिए । तर, रोजगारीको ग्यारेन्टी नहुने र कतिपय त फर्काइएका घटनासमेत सार्वजनिक हुँदै आएका थिए । 

जापानमा श्रमिकहरुको अभाव रहेकोले दक्ष र अर्धदक्ष दुवै खालका श्रमिकहरु त्यता लगिने सम्भावना रहेको बताइएको छ । आज दिउसो १२ बजे काठमाडौंको एक होटलमा हुने सम्झौतामा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल र जापानका तर्फबाट नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्ने जनाइएको छ । 

श्रमिकको छनोट प्रक्रिया आउँदो अप्रिल महिनाबाट सुरु हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए । जसअनुसार पाँच वर्षमा झन्डै साढे ३ लाख विदेशी श्रमिक जापान जानेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *