बर्दगोरियाको चौथाे गाउँसभाः चालूतर्फ ४३.८८ र पुँजीगततर्फ २४.७३ प्रतिशत बजेट

चैत्र १६, कैलाली । बर्दगोरिया गाउँपालिकाको चौथो गाउँ सभा शुक्रबार सम्पन्न भएको छ । गाउँ सभामा गाउँपालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन र खर्चको अवस्थाको समिक्षा गरिएको छ । 

गाउँसभामा चालु आर्थिक वर्ष २०७५/०७६ को फागुन मसान्तसम्मको आय ब्यय विवरण प्रस्तुत गरिएको छ । वार्षिक कुल २१ करोड १९ लाख ५४ हजार ८ सय ४७ रुपैयाँ बजेटको ४३.८८ प्रतिशत चालू खर्च र १० करोड ५१ लाख ८१ हजार रुपैयाँको २४.७३ प्रतिशत पुँजीगत खर्च भएको प्रतिवेदन सार्वजनिक गरिएको छ । 

गाउँपालिकाको आन्तरिक स्रोतबाट ५९ लाख ३२ हजार ६ सय ३ रुपैयाँ आम्दानी देखिएको छ । विविध राजस्व शीर्षकमा गाउँपालिकाको आन्तरिक आयमा यसवर्ष वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । 

null

 

गाउँसभामा गाउँपालिका उपाध्यक्ष भगवती डंगौराले तेस्रो गाउँ परिषदबाट विनियोजन भएका बजेट योजना तथा कार्यक्रमको आयब्यय अनुमोदनका लागि प्रस्तुत गरेकी थिइन् । उपाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन अनुसार विनियोजित बजेटको ७५ प्रतिशत काम सम्पन्न भैसकेको र २५ प्रतिशत कार्य कार्यान्वयनको चरणमा रहेको जानकारी गरिएको छ । यस्तै, चालु आर्थिक वर्षभित्र नै वडा नम्बर १, २ र ५ मा सडक कालोपत्रे गर्ने योजनाको सम्झौता भइ कार्य सञ्चालनको प्रक्रियामा रहेको जानकारी गरिएको छ । 

गाउँसभामा १९ लाख ४८ हजार चालुतर्फको बाँकी बजेटलाई चालूतर्फकै सेवा परामर्श शीर्षकमा रकमान्तर गरिएको छ । समपूरककोष लगायतको पुँजीगत शीर्षकमा बाँकी रहन गएको ६२ लाख ७९ हजार रकमलाई बिकास बजेट योजनामा बाँडफाँड गरिएको छ । यस्तै, स्वास्थ्य चौकी निर्माणतर्फको २० लाख बजेट रकमलाई संशोधन गरि सडक ग्राबिल, स्वास्थ्य इकाई ब्यवस्थापन, फर्निचर, औषधी खरिद र योजनामा विनियोजन गरिएको छ । 

गाउँसभामा बोल्दै गाउँपालिका उपाध्यक्ष भगवती डंगौराले गाउँसभा योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र प्रगतिको समिक्षा गर्ने दिन भएको बताइन् । गाउँसभामा विभिन्न विषयगत उपसमिति र कार्यसमिति पदाधिकारीका सदस्यहरुले विषयगत प्रगतिको अवस्था बारे विषयगत प्रमुखले नै बोल्नुपर्नेमा एकअर्काबीच आलोचना गर्नतर्फ नै अग्रसर रहेको भन्दै उनले गुनासो गरिन् ।  

गाउँपालिका अध्यक्ष बलिराम डंगौराले बिकासका लागि सबैले एकजुट हुनुपर्नेमा जोड दिए । जनताको सेवा सुविधा र देश बिकास गर्ने बाचा र अठोटका साथ निर्वा्चित भएको स्मरण गर्दै जनताको हितमा जनप्रतिनिधिले काम गर्नुपर्ने बताए । उनले गाउँ टोलस्तरबाट नै बजेट योजना छनोट हुने भएकाले जनताका आवश्यकता र समस्या पहिचान गरि बिकास योजनाको कार्यान्वयनमा जोडदिनुपर्ने धारणा व्यक्त गरे ।  

 

स्थानीय तह निर्वाचन पश्चात गाउँ सभामा संसदीय अभ्यासको रचनात्मक सुरुवात हुन थालेको छ । शुक्रबार भएको बर्दगोरिया गाउँपालिकाको चौथो गाउँसभामा संसदीय अभ्यास देखिएको छ । गाउँसभामा उपस्थित अधिकांश जनप्रतिनिधि कोट, पाइन्ट र साडीमा सजिएर उपस्थित भएका देखिन्थे । 

न्यायपालिका, कार्यपालिका र विषयगत सदस्यहरु सबै पोसाकमा उपस्थित थिए । सभासदस्यहरूले गाउँसभामा उपाध्यक्षद्वारा प्रतिवेदन प्रस्तुत भएपछि विनियोजित बजेटको समिक्षा गरे । सभामा बाँकी रहेको बजेट योजनाका बिषयमा समेत जिज्ञासा र धारणा राखेका थिए । 

तर, कतिपय प्रक्रियामा भने, अलमल देखिएका थिए । बजेट योजना तथा संसोधन प्रस्ताव पेश भएपछि अध्यक्षले पक्ष र विपक्षमा सभा सदस्यहरुको मत माग्नुपर्ने प्रक्रिया भएपनि यो देखिएन । चौथोपटक पनि गाउँसभाका सदस्यहरु ‘मिनि संदन’ मा अल्मलिएका देखिए । सदस्यहरुले निर्णयार्थ पेश हुने विषयवस्तुको पक्ष र विपक्षमा हात उठाएर मत जाहेर गर्ने प्रक्रिया भने, देखिएन तरपनि सबैले आ–आफ्नो धारणा र जिज्ञासा भने राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *