साफ महिला च्याम्पियनसीप फुटबलको तयारी अन्तिम चरणमा

 

फागुन १९, विराटनगर । नेपालमै पहिलोपटक काठमाडौं बाहिर विराटनगरमा हुन लागेको पाँचौं दक्षिण एसियाली (साफ) महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।  

दक्षिण एसियाली फुटबल महासंघ र अखिल नेपाल फुटबल सङ्घको संयुक्त आयोजनामा फागुन २८ देखि विराटनगरको सहिद रंगशालामा सुरु हुन लागेको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको हो । प्रतियोगितालाई लक्षित गरि मुख्य खेलमैदान, प्रशिक्षण र अभ्यास खेल मैदानको स्तरोन्नती तथा व्यवस्थापन लगायत तयारीहरु पुरा भईसकेका छन् । 

null

 

विराटनगर महानगरले शहिद मैदान आसपास र खेलाडी वस्ने होटल देखि सहिद मैदान बीचका सडक निर्माण कार्यलाई उच्च प्राथामिकता दिएको छ । विराटनगरमा साफ च्याम्पियनसिप हुनु अत्यन्तै गौरवको विषय भएको बताउँदै विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले तयारी व्यवस्थापनमा महानगरपालिका तीव्र रुपले लागि परेको बताए ।  

उनले भने ‘ यो खेल पहिलो पटक हुनु विराटनगरवासीका लागि एकदमै गौरवको विषय हो । यसलाई महानगरले सौभाग्यका रुपमा ठानेको छ । महानगरबाट खेलका लागि पूर्वाधारमा सपोर्ट गर्ने भनेर १ करोड रुपैयाँ खर्चिएको अवस्था छ । त्यसैको तयारीका लागि सडकको पूर्वाधारलाई समयसिमा भित्र तयारी व्यवस्थापन गराइसक्ने भनेर रात दिन पूर्वाधार निर्माणमा खटाइएको छ ।’  

 

साफ च्याम्पियनसिपमा आउँने खेलाडी र पदाधिकारी बस्ने होटलको समेत व्यवस्था गरिसकिएको छ । खेलाडीलाई विराटनगरका रत्ना, जेनियल, स्टन स्टार होलट र पदाधिकारी तथा अफिसियलहरुका लागि बिग होटलको व्यवस्था गरिएको जनाईएको छ ।  

त्यस्तै खेलाडीकालागि अभ्यास गर्न जुट मिलको मैदान, डिपिएस स्कुलको मैदान र सुनसरी दुहवीको खेल मैदानको व्यवस्था गरिएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)का केन्द्रीय सदस्य निरोज खड्गीले बताए । उनले प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाले १ करोड र प्रदेश नं.१ सरकारले ५० लाख सहयोग गरेको जानकारी दिए । साफ च्याम्पियनसिपका लागि सम्पुर्ण तयारी अन्तिम चरणमा रहेको र आगामी फागुन २० गतेसम्ममा साफलाई बुझाई सक्ने एन्फाले जनाएको छ । 

एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले भने ‘ हामीले तयारीको ८० प्रतिशत बढी काम सम्पन्न गरिसकेका छौँ । चेन्जीङ रुमहरु बनाउने , होटलहरुको व्यवस्थापनदेखी लिएर सवैकामहरु लगभग सकिन लागेको छ । २० गते भित्रमा सवै तयारी सकेर २१ गते हामी म्याच कमिशनलाई बुझाउँछौँ । यो चाहीँ काठमाडौं बाहिर पहिलो प्रतियोगिता भएकाले दर्शकहरु पनि एकदमै उत्साहित हुनुहुन्छ । यहाँ धेरै मान्छे अट्ने सम्भावना कम छ । १० हजार भनेको तर ८ हजार पनि अट्ने स्थीति छैन । चुनौतीका बाबजुद हामी म्यानेज गर्न सक्छौँ भन्ने आश लिएका छौँ ।’  

साफ च्याम्पियनसिपका लागि सडक लगायत अन्य विभिन्न तयारीका लागि महानगरपालिकाले रात्री समयमा पनि निर्माण कार्यलाई तीव्रता दिएको छ । मोफसलमै पहिलो पटक ठुलो प्रतियोगिता हुन लागेको र प्रतियोगिता भव्यरुपले सफल हुने बताउँदै अखिल नेपाल फुटबल संघका सहायक महासचिव बसन्त अर्यालले साफ च्याम्पियनसिपका लागि महानगरपालिका र प्रदेश सरकारले सक्दो सहयोग गरेको बताए । 

उनले भने ‘प्रतियोगिता सञ्चालन खर्च साफको बजेटबाट हुन्छ । यहाँको पूर्वाधार निर्माणमा विराटनगर महानगरपालिकाको महत्वपूर्ण योगदान छ ।  यो खेलमा सार्क राष्ट्रका नेलाल सहित विभिन्न ६ देशको सहभागिता रहनेछ ।’फागुन २८ देखि चैत ८ सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, र मालदिभ्सको सहभागिता रहने छ । 

अफगानिस्तान बाहेक सार्क मुलुकका ७ वटा देशले भाग लिने बताइए पनि पाकिस्तानले अन्तिम समयमा आएर सहभागी नहुने जनाएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश छन् भने समूह ‘बी’ मा भारत, श्रीलंका र मालदिभ्स छन् । प्रतियोगिताको उद्घाटन खेल फागुन २८ गते नेपाल र भुटान बीच हुने एन्फाले जनाएको छ । 

प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने बताइएको छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *