त्रिवि आंगिक क्याम्पसमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन माग

 

काठमाडौं, ३० फागुन । पद्यकन्या बहुमुखी क्याम्पस बागबजार, काठमाडौंका महिला प्राध्यापक, महिला कर्मचारी तथा विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका देशभरिका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुखहरु बनाउन माग गरेका छन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा महिला प्राध्यापक, महिला कर्मचारी तथा बिद्यार्थीरुले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग राखेका हुन् । त्यस्तै, उनीहरुले पद्यम कन्या बहुमुखी क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुखमा महिला प्राध्यापकलाई नियुक्त गर्न पनि माग गरेका छन् । 

null

पद्यकन्या बहुमुखी क्याम्पसकी गृह विज्ञान केन्द्रीय बिभागकी प्रमुख प्रा. डा. मनसा थापा ठकुराठीले महिला क्याम्पसमा महिलालाई नै प्रमुखमा नियुक्ति गर्न सरकारसँग माग गरिन् । 

नेपालको संबिधान–२०७२ ले दिएको अधिकारलाई कार्यान्वयन गर्दे महिलालाई दिईएको ३३ प्रतिशतको नियम किन त्रिभुवन विश्वविद्यालयलमा कार्यान्वयन हुन सकेन ? भन्दै उनले प्रश्न तेर्साईन । 

उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएपनि त्रि.वि अन्तर्गतका ६१ वटा आंङ्खिक क्याम्पसहरुमा (४ वटा नर्सिङ क्याम्पस र सहशिक्षा भएको रत्नराज्य क्याम्पसबाहेक) कुनै क्याम्पसमा पनि महिला क्याम्पस प्रमुखहरु नभएको उनले जानकारी गराईन् ।आफ्ना मागहरुबारे सरोकार पक्ष सकारात्मक नभए तत्काल आमरण अनसनमा जान बाध्य हुने पनि उनले चेतावनी दिईन् । प्रा. डा. ठकुराठीले महिला प्राध्यापकहरुलाई समान सहभागितामा जोड दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराईन् । 

राज्यको उच्च निकायमा महिलाले नै जिम्मेवारी सम्हालिरहेको अवस्थामा योग्य र बरियताको आधारमा रहेका महिलाहरुलाई अवसर नदिई पद्यम कन्या क्याम्पसलाई बिगत एक महिनादेखि प्रमुखबिहिन बनाएको उनको आरोप छ । उनले अब देशभरिका आंगिक क्याम्पसहरुमध्ये कम्तिमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुख नियुक्त गरिनुपर्ने माग गरिन् । 

त्यस्तै कार्यक्रममा बोल्दै डा.कल्पना श्रेष्ठले प्राज्ञिक क्षेत्रमा ३३ प्रतिशत अधिकार बिश्वबिद्यालयले किन लागु गरेन ? भन्दै आक्रोस पोखिन् । पद्यम कन्या क्याम्पसबाट दुई जना पुरुष र एक जना महिलामात्र सिफारिसमा परेको बताउँदै उनले बरियताको पहिलो नम्बरमा रहेकी महिलालाई पाउनुपर्ने अधिकारबाट बञ्ति पार्न खोजिएको आरोप लगाईन् । 

पद्यम कन्या क्याम्पस प्राध्यापक संघ नेपालकी सदस्य एवम् उप–प्राध्यापक बिमला नेपालले संविधानले दिएको ३३ प्रतिशत अधिकारलाई प्राज्ञिक क्षेत्रमा नै बिभेद गरिएको गुनासो पोखिन् । 

आफुहरुले उपकुलपति, रेक्टरको कार्यालय र रजिष्टारको कार्यालयमा जानकारी गराउँदापनि सनुवाईको कुनै पहल नभएको उनको भनाई छ । उपकुलपति आफूहरुको मागका बारेमा सम्बेदनशील नदेखिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको पनि उनले स्पष्ट पारिन् ।आफुहरु पाउनुपर्ने अधिकार लिएरै छोड्ने बताउदै उनले हातमा कालोपट्टी बाँधेर कक्षाकोठामा काम गर्ने बताईन् । 

पद्यम कन्या क्याम्पस पुर्व एकाई अध्यक्ष तुलसा पन्तले देशमा भएका परिवर्तनहरुमा महिलाहरुको पनि सहभागिता रहेको तथा कानुनलेपनि महिलालाई ३३ प्रतिशत अधिकार दिएको जानकारी गराउदै त्रिबिले यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छिन् । 

अहिले महिलाहरुको सवै क्षेत्रमा समानुपातिक सहभागिताको सुनिश्चितता खोजिरहेको र ३३ प्रतिशत सहभागीता सबै निकायहरुमा कार्यान्वयन भैरहेको अवस्थामा देशकै ठुलो र महत्वपूर्ण एकमात्र आंगिक छात्रा क्याम्पसमा त्यसविपरित सिफारिस गरिनु बद्नियतपूर्ण र अन्यायपूर्ण रहेको उनको ठहरको छ । 

त्रि.वि. प्रशासनलाई योग्य एवं वरिष्ठ महिला उम्मेद्धारलाई प्राथमिकता दिई क्याम्पस प्रमुख नियुक्त गर्न आग्रह गर्दे उनले आफ्ना मागलाई बेवस्ता गरिए त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार सम्वन्धित पक्षनै हुनुपर्ने समेत उनको भनाई छ । उनीहरुले निश्चित विधि र मापदण्ड अनुसार महिलालाई प्राथमिकता दिई योग्य एवं वरिष्ठलाई क्याम्पस प्रमुख नियुक्त गर्नु नै समयको माग भएको जिकिर गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *