रोनाल्डोको ह्याट्रिकले युभेन्ट्स क्वार्टरफाइनलमा, सिटीले गर्यो गोलको वर्षा

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा दुई बलिया क्लब युभेन्ट्स र म्यानचेस्टर सिटी पुगेको छन् । इटालियन ‘लिग लिडर’ युभेन्ट्स बुधबार बिहान खेलिएको प्रिक्वार्टरफाइनलको दोस्रो लेग खेलमा उत्कृष्ट पुनरागमन गर्दै क्वार्टरफाइनलमा पुगेको हो । 

घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा युभेन्ट्सले प्रभावशाली स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडलाई ३-० गोलले हरायो । उक्त नतिजापछि युभेन्ट्स ३-२ कुल गोल भिन्नताका आधारमा अघि बढ्यो । यसअघि एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा युभेन्ट्स २-० गोलले पराजित भएको थियो । 

 

null

म्यानचेस्टर सिटीले भने घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा जर्मन प्रतिद्वन्द्वी साल्केलाई ७-० गोलको विशालअन्तरले पाखा लगायो । उक्त नतिजापछि इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी १०-२ कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुग्यो । 

यसअघि साल्केको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा पनि म्यानचेस्टर सिटी ३-२ गोलले विजयी भएको थियो । एट्लेटिको म्याड्रिडविरुद्ध महत्वपूर्ण खेलमा युभेन्ट्सका लागि तीनवटै गोल पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले गरेका थिए । पहिलो हाफमा एक गोल गरेका रोनाल्डोले दोस्रो हाफमा दुई गोल थपेका थिए । 

यसैगरी खेल सुरु भएको २७ औं मिनेटमै उनले टोलीका लागि पहिलो गोल गरे । ४८ औं मिनेटमा दोस्रो गोल गरेका रोनाल्डोले निर्धारित समयको खेल सकिनुभन्दा चार मिनेटअघि पेनाल्टीमार्फत अर्को गोल थप्दै ह्याट्रिक पुरा गरेका हुन् । 

 

रोनाल्डो यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्ट्समा आबद्ध भएका हुन् । उनले च्याम्पियन्स लिगमा गरेको गोल सँख्या एक सय २४ पुगेको छ । रोनाल्डोले च्याम्पियन्स लिगमा गरेको यो आठौं ह्याट्रिक हो । च्याम्पियन्स लिगको क्वार्टरफाइनलको खेल तालिका आगामी शुक्रबार सार्वजनिक गरिने छ । 

पहिलो लेग खेलमा पराजित भएर पनि युभेन्ट्स च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको यो सन् २००५/६ पछि पहिलो पटक हो । सन् २००५/६ सिजनमा पहिलो लेग खेलमा पराजित भएको युभेन्ट्स दोस्रो लेग खेलमा जर्मन क्लब वेर्डर ब्रेमेनलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो । 

 

एट्लेटिको म्याड्रिड भने घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा २-० गोलले विजयी भएर पनि क्वार्टरफाइनलमा पुग्न नसक्ने विश्वकै चौथो क्लब बनेको छ । यसैगरी साल्केविरुद्को खेलमा म्यानचेस्टर सिटीका लागि सर्जियो एग्वेरोले दुई गोल गरे । उनले दुबै गोल चार मिनेटको बीचमा गरेका थिए । 

खेल सुरु भएको ३५ औं मिनेटमै पेनाल्टीमार्फत पहिलो गोल गरेका एग्वेरोले ३८ औं मिनेटमा टोलीको अग्रता २-० बनाएका थिए । पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि म्यानचेस्टर सिटीका लागि लेरोय सानेले तेस्रो गोल गरे । ५६ औं मिनेटमा रहिम स्टर्लिङले टोलीको अग्रतालाई ४-० बनाए भने ७१ औं मिनेटमा बेनार्डो सिल्भाले पाँचौं गोल गरेका थिए । 

यसैगरी ७८ औं मिनेटमा फिल फोडेनले छैटौं गोल थपे भने ८४ औं मिनेटमा ग्याब्रियल जिससले सातौं गोल गरेका थिए । कुनै पनि टोली १०-२ वा सोभन्दा ठुलो गोल अन्तरले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको यो दोस्रो पटक हो । यसअघि सन् २००८/९ सिजनमा जर्मन क्लब बायर्न म्युनिखले स्पोर्टिङ सीपीलाई १२-१ कुल गोल भिन्नताका आधारमा हराएको थियो । 

 

जारी सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुग्ने म्यानचेस्टर सिटी तेस्रो इङ्लिस क्लब हो । म्यानचेस्टर युनाइटेड र टोट्टनहाम यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेका छन् । सन् २०१०/११ सिजनपछि पहिलो पटक तीनवटा इङ्लिस क्लब च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेका हुन् । 

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको पछिल्ला सात खेलमा कम्तिमा दुई गोल गरेको छ । एग्वेरोले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीका लागि लगातार चौथो खेलमा गोल गरेका हुन् भने सानेले ब्यवसायिक प्रतियोगितामा ५० औं गोल गरेका हुन् । सानेले म्यानचेस्टर सिटीका लागि ३७ र पूर्वक्लब साल्केका लागि १३ गोल गरेका छन् । 

 

यसैगरी फोडेन च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीका लागि गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् । साल्केविरुद्को खेलमा गोल गर्दा उनको उमेर १८ वर्ष दुई सय ८८ दिनमात्र पुगेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *