प्रतिबन्ध केपी–बादल कम्पनीको षडयन्त्रकारी निर्णयः विप्लब

 

फागुन ३०, काठमाडौं । सरकारले विप्लब माओवादीलाई प्रतिबन्ध लगाएपछि पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेको तर, दलाल पूँजीवादी सत्ताको दमन र प्रतिबन्धसामु एकरति नझुक्ने बताएका छन् । 

फागुन २८ गते साँझ बसेको सरकारको मन्त्रिपरिषद्को बैठकले ने.क.पा.लाई कुनैपनि गतिविधि गर्न नदिने निर्णय सहित प्रतिबन्ध लगाएपछि पार्टीको धारणा सार्वजनिक गर्दै विप्लबले पार्टीमाथिको ‘प्रतिबन्ध’लाई केपी–बादल कम्पनीको अपराधिक र षडयन्त्रकारी निर्णय भनेका छन् । 

null

जनयुद्धका तत्कालीन नेतृत्व गरेका प्रचण्डहरु तुच्छ स्वार्थका लागि कांग्रेस, एमाले र भारतसँग घाँटी जोड्न पुगेदेखि आफूहरुले जनता र राष्ट्रको भविष्यको लागि क्रान्तिको झण्डा निरन्तर उठाउँदै आएको विप्लबले बताएका छन् । सरकारको प्रतिबन्ध फागुनको तेस्रो साता कपिलवस्तु शिवगढी अञ्चलपुरका युवा दुर्गाबहादुर रोकालाई समातेर गोली हानेर घाइते बनाएपछि सरकारले आफुहरु माथि प्रतिबन्ध लगाएको जिकिर गरेका छन् । 

विप्लबले चुनाव बहिष्कार यता मात्र राज्यले पार्टीका तीन जना कार्यकर्ताको हत्या गरिसकेको र तीन दर्जन बढीलाई घाइते बनाएको उल्लेख गरेका छन् । यसका अलावा राज्यले सयौं नेता कार्यकर्तालाई झुठा मुद्दामा जेल हालेको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

झापा विद्रोह र दस वर्षे जनयुद्धका उद्देश्य, सहिद, घाइते, बेपत्तालाई धोका दिने र विदेशीको दलाली गर्ने तस्कर, कमिसनखोर, बिचौलियासँग मिलेर राष्ट्र बेचेर पैसा खाने, जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, वैरी, भ्रष्ट, राज्यका मन्त्री र तिनका मतियारमाथि प्रतिबन्ध लगाउनुपर्ने महासचिव विप्लवले आफ्नो लिखित वक्तव्यमा उल्लेख गरेका छन् । 

विप्लबले ‘केपी–बादल कम्पनी’ले देश र जनताविरुद्ध अपराधिक षडयन्त्र गरिरहेको उल्लेख गर्दै त्यसप्रति गम्भीर ध्यान दिन आग्रह गरेका छन् । शिवगढी अञ्चलपुर लगायत देशका विभिन्न स्थानमा ‘कथित’ अप्रेसन चलाएको र त्यसक्रममा अञ्चलपुरका स्थानीय युवा दुर्गाबहादुर रोकालाई समातेर ट्वाइलेटमा लगेर गोली हानेर घाइते बनाएको समेत महासचिव विप्लवले वक्तव्यमा बताएका छन् । 

विप्लबले अरुण ३ जलविद्युत आयोजना, नीजि क्षेत्रको मोवाईल सेवा प्रदायक कम्पनी एनसेल र विदेशमा म्यानपावर सप्लाई गर्दै आइरहेको कम्पनीमाथिको भएको आक्रमणको जिम्मा समेत लिएका छन् । ‘अरुण ३, एनसेल र मेनपावर सप्लाई कम्पनी माथिको कारवाही हामीले गरेको हो ।’ जारी वक्तव्यमा भनिएको छ । 

करिब एक महिना अगाडि संखुवासभाको अरुण ३, फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय र फागुन २४ गते बसुन्धरास्थित नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विष्फोट गराइएको थियो । 

‘केपी–बादल कम्पनीले’ अरुण ३ मा राष्ट्रघाती सम्झौता गरेर अर्बौं रुपैयाँ कमिसन खाएको, एनसेलले राज्यलाई अर्बौं रुपैयाँ लाभकर छलेको र हजारौं युवा तथा दिदीबहिनीहरुलाई विदेशी बजारमा आलू बेचेसरह बिक्री गर्दै आइरहेको आरोप लगाइएको छ । 

ने.क.पा.माथि प्रतिबन्ध लगाएर केपी–बादलहरुले आफ्नो भ्रष्ट र अपराधिक अनुहार छोप्ने कोशिस गरिरहेको भन्दै ने.क.पा.ले उनीहरुले जसरी विदेशी केन्द्र र पूँजीवादी दलालको सहयोगमा नभई आफ्नै बलबुताबाट जनता र राष्ट्रको भविष्यको लागि लड्दै आएको कुरा महासचिव विप्लवले जिकिर गरेका छन् । हिजो बुधबार मात्र प्रधानमन्त्री केपी ओलीले जनप्रतिनिधिहरुसँग विप्लवलाई ‘चन्दा’ नदिनू’ भनेर निर्देशनकै बेला महासचिव विप्लवको सो भनाई बाहिर आएको हो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *