रुपन्देहीमा ढुङ्गाले हानेर एक युवकको हत्या
बुटवल । रुपन्देहीको देवदहमा अज्ञात समूहको आक्रमणबाट एक जना युवकको मृत्यु भएको छ । उनलाई ढुङ्गाले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ । आइतबार साँझ मोटरसाइकलमा सवार देवदह ५ का अन्दाजी २० वर्षीय अमिस पुरीलाई स्थानिय युवाहरुले ढुङ्गाले आक्रमण गरेको र आक्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
देवदह प्रहरी चौकी खैरनीका प्रहरी नायब निरीक्षक भरत थापाका अनुसार मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनलाई अज्ञात समूहले आक्रमण गरेको थियो । ढुङ्गा प्रहारबाट गम्भीर घाइते पुरीको उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।
null
घटनामा सम्लग्न भएको आशंकामा एक जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । आक्रमण किन र कसरी भयो भन्ने नखुले पनि दिउँसो देवदहमा आयोजित मेलामाती युवा र स्थानिय युवाबीच झगडा भएको र त्यही इगोका कारण उनीमाथि ढुङ्गा प्रहार गरिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
आक्रमण गर्ने समूहको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ । पुरीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । छोरोको मृत्युको घटनापछि बेहोस बनेका उनका बाबुआमाको गौतम बुद्ध मुटु अस्पतालमा उपचार भइरहेको छ ।