यस्ता छन्, आजका पत्रपत्रिकाका समाचार

काठमाडौं । आजका पत्रिकाहरुमा वाम नेता भरतमोहन अधिकारीको निधनको समाचार प्रमुख हेडलाइन बनेका छन् । त्यसबाहेक अन्य फरक समाचारलाई पनि पत्रिकाहरुले पहिलो पृष्ठमा स्थान दिएका छन् । 

कान्तिपुर दैनिकले ‘वन मिचेर ढुंगाखानी’ शीर्षकमा मुख्य समाचार छापेको छ । यो समाचार धादिङको धुनिबेसी नगरपालिकाको हो । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज अन्तर्गतको वन क्षेत्र मिचेर धुनिबेसी नगरपालिका १ छत्रेदेउरालीमा वर्षौंदेखि कानुनविपरित रोडाढुंगा र चुनढुंगा खानी सञ्चालन भइरहेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएअनुसार वन क्षेत्र मिचेर सञ्चालन भइरहेका खानी बन्द गर्न निकुञ्जले निर्देशन दिए पनि अटेर गरिएको छ । 

 

null

अन्नपूर्ण पोष्ट दैनिकले सत्ता पक्ष र प्रतिपक्षबीच स्वार्थ मिलेका र नमिलेका विषय खोतलेको छ । सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसबीच राष्ट्रिय स्वार्थमा विमती रहे पनि दलीय स्वार्थका विषयमा भने विमती नदेखिएको समाचारमा उल्लेख छ । सत्तापक्ष र प्रतिपक्षबीच वाइडबडी घोटाला प्रकरण, अख्तियार आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो, द्वन्द्वकालीन मुद्दा, मौलिक हकसम्बन्धी कानुन निर्माण र राजदूतको फिर्ता र थमौतीका विषयमा स्वार्थ मिलेको छ । यसैगरी संवैधानिक परिषदमा प्रमुख प्रतिपक्ष बिना निर्णय, विदेश नीतिमा मतभिन्नता, भेनेजुएला प्रकरण र निर्मला हत्या प्रकरणमा टकराव रहेको समाचारको सार छ । 

 

गोरखापत्र दैनिकमा रक्सौल काठमाडौं रेल सञ्चालनका लागि दुई वटा मार्ग प्रस्ताव गरिएको समाचार छ । तर, कुन कुन मार्ग हुन् भन्ने कुरा गोरखापत्रले खुलाएको छैन । समाचारमा यतिमात्र लेखिएको छ, ‘अध्ययनअनुसार एउटा मार्ग छोटो छ भने अर्को माग अलि लामो छ । छोटो दुरी १४० किलोमिटर छ भने लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको छ ।’ 

 

‘अलबिदा अधिकारी’ शीर्षकमा नेता भरतमोहन अधिकारीको निधनको समाचारलाई मुख्य प्राथमिकताका साथ छापेको नागरिक दैनिकले सिंहदरबारभित्रै सरकारले नियमविपरीत ठेक्का दिन लागेको विषयको खुलासा गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बनाउन लागेको ‘वार रुम’मा राख्ने भिडियो ‘कन्फरेन्सिङ सिस्टम’ खरिदका लागि नियमविपरित ठेक्का दिने तयारी गरेको समाचारमा उल्लेख छ । 

 

कारोबार दैनिकले समग्र कृषि क्षेत्रलाई बहुराष्ट्रिय कम्पनीको हातमा सुम्पिने विधेयक सरकारले संसदमा पेश गरेको समाचार मुख्य पुष्ठमा छापेको छ । समाचारमा लेखिएअनुसार ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ जस्ताको तस्तै पास भएमा आयातित कृषि उपजमात्र नभई सिधै बहुराष्ट्रिय कम्पनीले कच्चा पदार्थ नै ल्याएर यहीँ उत्पादन गर्न पाउने छन् । 

 

राजधानी दैनिकले गण्डकी मेडिकल कलेजले अनियमित रुपमा १ अर्ब बढी असुली गरेको र नयाँपत्रिका दैनिकले धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधिले एक दिनको १५ हजार रुपैयाँ भत्ता लिएको समाचार छापेका छन् । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *