खुकुरी प्रहार गरी श्रीमतीको हत्या

सर्लाही, ८ चैत्र । सर्लाहीको बरहथवामा श्रीमानको खुकुरी प्रहारबाट एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्ने उदयपुर सुरुङ्गाका रामजी विश्वकर्माले बिहीबार राति ३३ वर्षीया श्रीमती सुनिता विश्वकर्मामाथि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
राती साँढे १० बजेतिर रामजीले श्रीमती सुनिताको घाँटी, हात, खुट्टा लगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार खुकुरी प्रहारबाट सुनिताको घटनास्थलमै ज्यान गएको थियो । श्रीमतीको हत्या गरी भाग्दै गरेका रामजीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ ।
null
प्रहरी नियन्त्रणमा रहेका रामजीले श्रीमतीले आफूलाई खुकुरी प्रहार गर्न खोज्दा प्रतिकारमा उनको मृत्यु भएको बताएका छन् । मृतक सुनिता बहरथाको चक्रजनता बहुमुखी क्याम्पसमा शिक्षिकाको रुपमा कार्यरत रहेको प्रहरीले जनाएका छन् । मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








