भगवती चौधरीका नजरमा भरतमोहनः दुरदर्शी, सफल अर्थमन्त्री

 

नेपाल कम्युनिष्ट पार्टीका सम्झना गर्न र अनुकरण गर्न योग्य नेताका रुपमा भरतमोहन अधिकारीलाई लिइन्छ । उहाँको सादगी, पार्टी र जनताप्रतिको इमानदारिता तथा बृद्धबृद्धाका लागि उहाँको सद्भाव सदैव नेपाली जनताले सम्झने छन् । उहाँ नेपालको सफल अर्थमन्त्री समेत हुनुहुन्छ । र, अर्थविद् पनि हो । 

उहाँले २०५१ सालमा पहिलो जननिर्वाचित कम्युनिष्ट पार्टीको सरकारमा अर्थमन्त्री रहेर ल्याउनु भएको ‘आफ्नो गाउँ आफैं बनाऔं’ अभियान, बृद्धभत्ता कार्यक्रम, मुलुकको विकासका लागि ल्याउनु भएको ‘९ स’ कार्यक्रम अत्यन्त लोकप्रिय भयो । 

null

हामी कहाँ अहिलेपनि बुढेसकालमा बृद्धबृद्धालाई राम्ररी स्याहार सुसार गर्ने चलन छैन । उहाँले सामाजिक समस्याका रुपमा बढ्दै गएको यो समस्या केहि हदसम्म निराकरण गर्न ल्याउनु भएको बृद्धभत्ता कार्यक्रमले बुढेसकालमा औषधोपचार गर्न नसकेर अलपत्र परेका बृद्धबृद्धाका लागि बरदान सावित भयो । रु १ सय बाट सुरु भएको बृद्धभत्ता अहिले सामाजिक सुरक्षा भत्ताका नाममा २ हजार पुगेको छ । 

 

सुत्केरी भत्ता कार्यक्रमले धेरै महिलालाई राहत पुगेको छ । महिलालाई सम्पत्ति माथिको अधिकार स्थापित गर्न उहाँको योगदान छ । उहाँले ०६१ सालमा अर्थमन्त्री हुँदा महिलाको सम्पत्ति माथिको अधिकार स्थापित गर्न जग्गादर्ता गर्दा छुट दिने ब्यवस्था ल्याउनु भयो । मुलुकको आर्थिक स्रोत बलियो बनाउन १० प्रतिशत करलाई १३ प्रतिशत बनाउन सफल हुनुभयो । राजस्वको दायरा फराकिलो बनाउनु भयो । ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्दै सुरु गरेको विकास केन्द्रित अभियानले गाउँगाउँमा मोटरबाटो पुग्यो । विद्यालय बने । स्वास्थ्य संस्था, पुलपुलेसा निर्माण भए, लघू जलविद्युत कार्यक्रमले गाउँगाउँमा साना जलविद्युत आयोजना बने । यस्ता धेरै उदाहरण छन्, जसले गर्दा भरतमोहन अधिकारी हाम्रा माझ सदैब स्मरणीय हुनुहुन्छ । 

उहाँसँग धेरै कार्यक्रम र पार्टीका काम कारवाहीमा मेरो सहभागीता रहेको छ । उहाँले मलाई हरेक पटकको भेटमा एउटा छोरी चेलीलाई गर्ने ब्यवहार, केयरिङ, गाइडेन्स गर्नुभयो । पार्टीको कार्यक्रममा होस् कि, जनताका घरदैलामा जाँदा उहाँले मलाई सदैव सल्लाह सुझाव दिनुभएको छ । म पहिलो संविधान सभा सदस्य हुँदा पनि उहाँले धेरै कुरामा मलाई सहयोग, सुझाब दिनुभयो । 

उहाँ कानुन ब्यवसायी भएपनि आर्थिक क्षेत्रमा धेरै दख्खल थियो । सफल अर्थ विद् हुनुहुन्छ । भोलीको आर्थिक निती कस्तो हुनुपर्छ, जनताको आर्थिक स्तर सुधार्न कस्ता कार्यक्रम चाहिन्छ उहाँलाई थाहा थियो । उहाँकै पालामा गाउँगाउँमा सहकारी कार्यक्रम आयो । गाउँघरमा छरिएर रहेका स–साना पुँजीलाई एकत्रित गरी लगानी गर्ने उहाँको सोचले अहिले धेरै गाउँघरका महिला आर्थिक क्षेत्रमा शशक्त भएका छन् । उहाँले आर्थिक क्षेत्रको सुधारका लागि ल्याएका नीति तथा योजनाहरु दिर्घकालिन थिए । 

बृद्धावस्थामा समेत उहाँको चिन्ता देश र जनताका पक्षमा थियो । उमेरका हिसाबले उहाँ र हामी विच धेरै अन्तर भएपनि विचारका हिसाबले उहाँ सदैव युवा हुनुहुन्थ्यो । कार्यकर्ता परिचालन र पार्टीको भिजन निर्माणमा उहाँको ठूलो योगदान छ । 

भरतमोहन अधिकारीको निधनले मुलुकले एउटा इमान्दार असल नागरिक गुमाएको छ । नेपाली कम्युनिष्ट आन्दोलनका योद्धा गुमाएको छ । पार्टीले एक सातामा दुई वटा पुस्ता गुमायो । एउटा बर्तमान पुस्ताका योग्य नेता मन्त्री रवीन्द्र अधिकारी र अर्को आर्थिक क्षेत्रका सफल र दिर्घकालिन सोच राख्न सक्ने सफल अर्थमन्त्री भरतमोहन अधिकारी । 

चौधरी, नेकपाकी केन्द्रिय सदस्य हुनुहुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *