अमेरिकाबाट फर्किए प्रचण्ड, आज दिउँसो काठमाडौँ आइपुग्ने

चैत १४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन् ।
पत्नी सीता दाहालको उपचारका लागि छोरी गंगा, ज्वाइँ जीवन आचार्यसहित १० दिनअघि अमेरिका प्रस्थान गरेका प्रचण्ड पत्नीको उपचार सकेर बिहीबार स्वदेश फर्कन लागेका हुन् ।
null
बुधबार बिहान न्यूयोर्कबाट प्रस्थान गरेका प्रचण्ड दिउँसो ४ बजे काठमाडौं आइपुग्ने प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
सीता दाहालको मेरिल्यान्डस्थित जोन हप्किन्स अस्पतालमा परीक्षण गरिएको थियो। डाक्टरहरुले अस्पताल भर्ना गर्नुनपर्ने भनेपछि पत्नीसहित प्रचण्ड आज काठमाडौँ आउन लागेका हुन् ।
प्रचण्डले आफ्नो निजी भ्रमणका क्रममा अमेरिकी कुटनीतिज्ञ स्कट एच डेलिसी, अमेरिकी विदेश मन्त्रालयकी दक्षिण तथा मध्य एशिया मामिला हेर्ने कार्यवाहक सचिव एलिस वेल्च, मेरिल्यान्ड राज्यका राज्यसभा सदस्य एचबी ह्यारी भण्डारी, क्यालिफोर्नियाका अवैतनिक महावाणिज्यदूत ऋषि ढकाल डिसी लगायतसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए ।
अध्यक्ष दाहालको अमेरिका बसाईंमा केही नेपालीहरुले उनीविरुद्ध उजुरी समेत गरेका थिए । उजुरीपछि सरकारले उनको सुरक्षा प्रबन्ध मिलाएको थियो ।








