साफ च्याम्पियनसिप: उद्घाटन खेलमा नेपाल भुटानविरुद्ध खेल्दै

काठमाडौं, २८ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोली पाँचौं महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा आज भुटानविरुद्ध खेल्दैछ । घरेलु मैदानमा सुखद नतिजाको रणनितीसहित समुह ‘ए’ मा रहेको आयोजक नेपाल तुलनात्मक रुपमा कमजोर मानिएको भुटानविरुद्ध खेल्न लागेको हो । विराटनगरस्थित सहिद रंगशालामा खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
नेपाली टोलीका प्रशिक्षक हरि खड्काले प्रतिद्वन्दीलाई कमजोर र बलियो नआकी आफ्नो खेल प्रदर्शन गर्ने बताए । उनले भने, ‘सबै टोलीप्रति उत्तिकै सम्मान छ । भुटानलाई कमजोर नसोची आफ्नो खेल देखाउनेछौं ।’
भुटानले नेपालको यु १९ टोलीसँग खेलका दुई मैत्रीपुर्ण खेललाई मध्यनगर गर्दै प्रशिक्षक खड्काले टोली रणनीति बनाएका छन् । उनले थपे, ‘मैत्रीपूर्ण खेलमा भुटान कमजोर देखिएको थियो । त्यही अनुसार टिम योजना बनाएको छु । घरेलु मैदानमा हामी सुरुवात सुखद बनाउने लक्ष्यमा छौं । अपेक्षा अनुसार नतिजा आउनेछ ।’
null
भुटानले यही साता नेपालको यु १९ टोलीसँग खेलेका दुबै मैत्रीपूर्ण खेलमा बराबरी गरेको थियो । प्रशिक्षक खड्काले सुरुवातको खेलले जितको आधार तय गर्ने भएकाले खेलाडी मानसिक र शारीरिक रुपमा निकै उत्साहित रहेको बताए । टोली कप्तान निरु थापाले सहज जित निकाल्ने बताइन् । उनले भनिन्, ‘हामीले भुटानविरुद्ध यसअघि सहज जित निकालेका छौं । पहिलो खेलको योजना यही हो हाम्रो । राम्रो खेल प्रदर्शन गर्नेछौं ।’ भुटानका प्रशिक्षक सुङ जाइ लिले आयोजकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा रहेको बताएका छन् । एक साताअघि नेपाल आएर दुई मैत्रीपुर्ण खेलबाट प्रशिक्षक सुङले टोलीको रणनीती बनाएका हुन् । खेलअघि सोमबार भएको पत्रकार सम्मेलनमा प्रशिक्षक सुङले टोलीमा युवा खेलाडी सामेल रहेकाले राम्रो प्रदर्शनको अपेक्षा गरेको बताए । नेपालले भुटानविरुद्ध खेलेका चारै खेलमा जित निकालेको छ । पछिल्लो पटक २०१४ र २०१६ को साफ च्याम्पियनसिपमा नेपालसँग प्रतिस्पर्धा गरेको भुटान ८(० को गोलअन्तरले पराजित भएको थियो ।
पहिलो पटक घरेलु मैदानमा आयोजना हुन लागेका साफ च्याम्पियनसिपमा नेपाल उपाधिको लक्ष्यमा छ । नेपालले हालै भारतमा सम्पन्न हिरो वुमन्स गोल्डकपमा साफको सफल राष्ट्र भारतमाथि जित निकालेको थियो । त्यसअघि ओलम्पिक छनोटमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो ।








