नेपाल इन्जिनियरिङ कलेज सञ्चालनको मोडालिटी बनाउन समिति गठन

फागुन ३०, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज सञ्चालनको मोडालिटी तयार गर्न कार्यदल गठन गरिएको छ । संसदीय समितिको शिक्षा तथा स्वास्थ्य उपसमितिले निर्देशन दिएको झण्डै २ महिनापछि शिक्षा मन्त्रालयले पोखरा विश्वविद्यालयका डीनको संयोजकत्वमा कलेज सञ्चालनको मोडालिटी तयार गर्न ५ सदस्यीय कार्यदल गठन गरेको हो । 

२ दिन अघि मन्त्रालयले पोखरा विश्वविद्यालयका इन्जिनियरिङ संकायका डीनको संयोजकत्वमा चाँगुनारायण नगरपालिकाका प्रमुख, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिब र नेपाल इन्जिनियरिङ कलेजका प्रिन्सिपल सदस्य रहेको समिति गठन गरेको हो । 

 

null

समितिको संयोजकमा पोखरा विश्वविद्यालयका इन्जिनियरिङ संकायका डीन उपप्राध्यापक बुद्धिराज जोशी रहेका छन् । सदस्यहरुमा चाँगु नारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्र, भक्तपुर जिल्ला प्रशासन कायालयका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, शिक्षा मन्त्रालयका सहसचिब केशब प्रसाद दाहाल र कलेजका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठ रहेका छन् । 

समितिलाई विवादमा रहेका सबै पक्षका पूराना सञ्चालक सदस्यहरुलाई ससम्मान संरक्षक र सल्लाहकारको रुपमा राखी संस्थापक सञ्चालकहरु, शिक्षकहरु, अभिभावक, विद्यार्थी स्थानीय राजनैतिक दल तथा बुद्धिजिवीहरुसँग परामर्श गरी सर्वपक्षीय, तटस्थ र नयाँ सञ्चालक समिति गठन गर्ने र कलेज सञ्चालनको मोडालिटी तय गर्न निर्देशन दिइएको छ । 

कलेजका प्रिन्सिपल हरिकृष्ण श्रेष्ठले ढिलै भएपनि शिक्षा मन्त्रालयले समिति गठन गरेर अन्यौलता हटाएको बताए । उनले सामाजिक संस्थालाई निजी बनाउने प्रयास गरेका लम्बोदर न्यौपाने लगायतको सड्यन्त्र अब नचल्ने भन्दै समस्याको निकास निस्कनेमा आफुहरु आशावादी रहेको जिकिर गरे । 

 

‘सार्वजनिक संस्था बेचेर करोडौं कमाउनेहरुलाई यो निर्णयले धक्का लागेको छ, मन्त्रालयले ढिलै भएपनि समिति गठन गरेर हामीलाई सहजता प्रदान गरेको छ ।’ श्रेष्ठले भने । 

पोखरा विश्वविद्यालयका इन्जिनियरिङ संकायका डीन बुद्धिराज जोशीले समितिले चैत्रको पहिलो साताबाट काम सुरु गर्न सक्ने बताए । 

भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रुपमा दर्ता भइ सञ्चालनमा आएको नेपाल इन्जिनियरिङ कलेजलाई कलेज सञ्चालक मध्येका लम्बोदर न्यौपाने, सांसद सुर्यबहादुर केसी, लबराज भट्टराई लगायतले सड्यन्त्र गरी निजी बनाउने प्रयास गरिरहेका छन् । 

यता कलेजमा ९० करोड बढि रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ । कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी तामेलीमा राख्न आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलाई ९२ लाख रुपैंया घूस दिएका थिए । आयुक्त पाठकले घूस लिएको सार्वजनिक भएपछि उनले पदबाट राजिनामा दिइसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *