कानुनी सहजताका कारण सम्बन्ध विच्छेदका घटनामा बृद्धि

चितवन, ४ फागुन । चितवनमा पछिल्लो समय श्रीमान श्रीमती बीच हुने सम्बन्ध बिच्छेदका घटनाहरुमा वृद्धि हुँदै गएका छन् । कानुनी सहजता तथा महिला तथा पुरुषको जीवनशैलीमा आएको परिवर्तनका कारण सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएका हुन् ।  

गएको भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताले महिला सरह पुरुषलाई समेत सम्बन्ध बिच्छेदका लागि सिधैं अदालत जाने बाटो खुल्ला गरेपछि पारपाचुकेका घटनामा वृद्धि भएको हो ।  

गएको भदौ १ गते देखि हालसम्म जिल्ला अदालतमा एक सय ५४ वटा सम्बन्ध बिच्छेदका मुद्दाहरु दर्ता भएकोमा ५३ वटा पुरुषवादी मुद्दा रहेका छन् ।  

null

 

चितवन जिल्ला अदालतका सूचना अधिकारी केशवप्रसाद पौड्यालका अनुसार मुलुकी संहिता लागू हुनुपूर्व पुरुषहरुले सिधै अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गराउन पाउँदैनथे । ‘परिवर्तित मुलुकी ऐनले पुरुषलाई महिला सरह सिधै अदालतमा मुद्दा दायर गर्न सक्ने अधिकार दिएपछि सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको छ ।’ उनले भने । जिल्ला अदालतले टुंगोमा र्पुयाएको सम्बन्ध बिच्छेदको मुद्दा फैसलामा पुनरावेदन समेत नलाग्ने पौड्यालले बताए । 

मुलुकीसंहिता लागू हुनुपूर्व पुरुषहरुले पत्नीसँग सम्बन्ध बिच्छेद गर्न चाहेमा पहिले स्थानीय तहमा निवेदन दिनुपर्ने हुन्थ्यो । स्थानीय तहले धेरै पुरुषवादी मुद्दाहरुलाई सहमतिमा टुंगाउने गरेको तथा सहमति जुट्न नसकेको मुद्दामात्रै अदालती प्रकृयामा पठाइने गरेको थियो ।  

हाल महिला पुरुष दुवैले सोझै अदालतमा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गराउन पाउने भएकाले सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएको जिल्ला अदालत चितवनका स्रेस्तेदार गेहेन्द्रराज पन्तले बताए । अदालतमा पुग्ने गरेका पारपाचुकेका मुद्दाहरु अधिकांश सहमतिमा सम्बन्ध बिच्छेद गराएर मिलापत्र हुने गरेको पन्तको भनाइ छ ।  

अघिल्लो दिन अदालतमा मुद्दा हाल्ने तर, भोलिपल्ट हामी सहमति भएर छुट्टिने निर्णय गर्यौं भन्दै दुवैले निवेदन दिएर अलग बस्ने गरेका पन्तको भनाइ छ ।  

सम्बन्ध बिच्छेदको मुद्दामा पतिपत्नीबीच अलग बस्ने सहमति हुन नसकेमा मुद्दा प्रकृयामा जाने र त्यसको टुंगो लाग्न एक वर्ष लाग्ने कानुनी व्यवस्था छ । महिला र पुरुषबीच उत्पन्न हुने मनमुटाबका कारणले पनि सम्बन्ध बिच्छेदका घटनाहरुमा वृद्धि भएको छ ।  

स्थानीय तहले जस्तै पतिपत्नीलाई मिलेर बस्नका लागि अदालतले कर नगर्ने र कानुनी प्रकृयामा गएर मुद्दाको टुंगो लगाउने गरिएको स्रेस्तेदार पन्तको भनाइ छ ।  

महिलाहरु सशक्तिकरण हुनु, आर्थिक क्षेत्रमा उनीहरुको पहुँच वृद्धि हुनु तथा श्रीमान श्रीमती टाढा हुँदा अन्य तेस्रो ब्यक्तिसँग सम्बन्ध बढ्नुका कारण सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएको चितवन जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष कमलराज पाठकले बताए । ‘कतिपय सम्बन्ध विच्छेद तेस्रो ब्यक्तिको प्रवेश बाट भएको छ । बैदेशिक रोजगारीमा गएका तथा लामो समयसम्म श्रीमान श्रीमती अलग भएकाहरुमा सम्बन्धविच्छेदका घटना बढेको देखिन्छ ।’ पाठक भन्छन् । 

महिला पुरुष दुवै आत्मनिर्भर हुने चाहनाले समेत सम्बन्ध बिछेदका घटनाहरु बढ्दै गएका पाठकको भनाइ छ । बिशेषतः वैदेशिक रोजगारका कारणले मानिसले विकल्पहरु खोज्दै जाँदा सम्बन्ध बिच्छेदका घटनाहरु बढेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *