पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई सम्झँदै कसले के भने ?

फागुन १५, काठमाडौं । ताप्लेजुङको फुङलिङमा आज मध्यान्ह भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारी नेपाली राजनीतिमा उदाउँदो युवा रहेको कम्युनिष्ट नेताहरुले बताएका छन् । विद्यार्थी राजनीतिबाट कम्युनिष्ट आन्दोलनमा सक्रिय अधिकारीलाई कम्युनिष्ट नेताहरुले भद्र, शालिन तथा राजनीतिमा अत्यन्त संभावना बोकेका युवा रहेको बताएका छन् । 

अधिकारीको निधनमा कम्युनिष्ट पार्टीका अधिकांश नेताहरुले गहिरो शोक ब्यक्त गर्दै देशले देशले एक आशातित नेता गुमाएको बताएका छन् । अधिकारीलाइ कांग्रेसका नेताहरूले समेत शाेक ब्यक्त गरेका छन् । 

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले संभावना बोकेको युवाको निधन भएको भन्दै गहिरो शोक ब्यक्त गरेका छन् । ‘कमरेड रवीन्द्र ! संभावनाको खोजी गर्दै तपाईंसित यसरी यात्रा गर्ने औसर सँधै सँधैका लागि अन्त्य भएको कुरा म पत्याउन सकिरहेको छैन !! राजनीतिमा अत्यन्त उज्जवल संभावना बोकेका तपाईंसित संगै यात्रा गर्ने संभावना समाप्त भएको कुरालाई पत्याउन सकिरहेको छैन !!’ उनले लेखेका छन् । 

null

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले पनि गहिरो शोक ब्यक्त गरेका छन् । उनले तीन दशकभन्दा लामो समयदेखिको मेरो घनिष्ठ मित्र तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी हेलिकप्टर दुर्घटनामा परी निधन भएको कुरा मलाई पत्याउनै कठिन भएको बताएका छन् । ‘यो घटनाले मलाई अत्यन्त स्तब्ध बनाएको छ । उहाँको निधनले देशका लागि अपुरणीय क्षति पुगेको छ ।’ 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट मार्फत अधिकारीलाई श्रद्धाञ्जली दिएका छन् । मन्त्री अधिकारीको फोटो राख्दै ज्ञवालीले लेखेका छन् ‘श्रद्धाञ्जलीका यी शब्दहरु लेख्नुपर्दा हात कापिँरहेका छन् । कसले सोचेको थियो र, यो जिवन्त मुस्कान यति अल्पायु होला भनेर ? अलविदा रवीन्द्र कमरेड’ 

नेकपाकी केन्द्रिय सदस्य भगवती चौधरीले पहिलो संविधान सभामा रविन्द्र अधिकारीसँग काम गरेको स्मरण गरेकी छिन् । अधिकारी मिलनसार, सृजनशिल तथा उर्जावान ब्यक्तित्व रहेको चौधरीले उल्लेख गरेकी छिन् । अधिकारीसँग आफुले पहिलो संविधान सभामा संगै रहेर संविधान लेखनको कार्य गरेको स्मरण गर्दै नेतृ चौधरीले देशको नेतृत्व गर्न सक्ने क्षमता भएको ब्यक्तित्व गुमाउनु परेको भन्दै श्रद्धाञ्जली ब्यक्त गरेकी छिन् । 

नेकपाका अर्का नेता प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि अकल्पनिय घटना घटेको स्मरण गर्दै श्रद्धाञ्जली दिएका छन् । नेकपाका प्रवक्ता योगेश भट्टराईले खराब मौसम हुँदा हुँदै हेलिकप्टरमा सात जना बोकियो भन्दै यो दुर्घटनाको उत्तर समयले दिने भन्दै दुखः ब्यक्त गरेका छन् । उनले अधिकारीको निधनले आफु स्तब्ध र निशब्द भएको बताएका छन् । 

मन्त्री अधिकारीको निधनमा गहिरो शोक ब्यक्त गर्दै प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भद्र र सुयोग्य नेता गुमाउनु परेको बताएका छन् । उनले अधिकारीलाई नेपाली राजनीतिका उदियमान नेताका रुपमा लिएका छन् । 

कांग्रेसकै युवा नेताले देशले असल नेता गुमाएको बताउँदै आफुले एक असल साथी समेत गुमाएको बताएका छन् । थापाले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् –‘रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भएँ, मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन । मैले आज एक असल साथी गुमाएको छु, देशले एक आशातीत नेता! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रध्दाञ्जली !!’ 

यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत मन्त्री अधिकारीका प्रशंसामा शब्द खर्चिदै राजनैतिक रुपमा आदरणीय साथी गुमाउनुपरेको बताउँदै श्रद्धाञ्जली प्रकट गरेका छन् । कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइरालाले मुलुकले एक इमानदार र आशा लाग्दा ब्यक्ति गुमाएको बताएका छन् । 

अधिकारीका प्रशंसामा विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पनि शब्द खर्चिदै देशले असल युवा गुमाएको धारणा राखेका छन् । 

मन्त्री अधिकारीले नेपाल कम्युनिष्ट पार्टीबाट राजनीति सुरु गरेका थिए । उनी तत्कालिन नेकपा एमाले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता हुन् । अधिकारीको जन्म कास्कीको भरतपोखरी गाउँमा २०२६ साल बैशाख २२ गते भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *