बहुमत आए डा. केसीको माग कांग्रेसले सम्बोधन गर्छः प्रवक्ता शर्मा


माघ १८, पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले डा. गोविन्द केसीको माग कांग्रेसले सम्बोधन गर्ने बताएका छन् ।
प्रेस युनियन कास्कीद्वारा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले यस्तो बताएका हुन् । ‘डा केसीका माग वर्तमान सरकारले सम्बोधन नगरे पनि बहुमत आउँदाको अवस्थामा ती मागलाई सम्बोधन गर्न काङ्ग्रेस तयार छ’, उनले भने ।
null
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै २३ दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेको बताउँदै प्रवक्ता शर्माले सरकारले उनको जीवनरक्षा नगरे तत्काल आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
उनले चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ को मर्म र भावना तथा अन्य कार्यदलका प्रतिवेदनसमेत लत्याइएको आरोप लगाए ।
एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भन्ने दफामा पनि डा केसीसँगको सम्झौता भएको तर त्यसमा समेत कुनै सुनुवाइ नभएको प्रवक्ता शर्माले उल्लेख गर्नुभयो ।
विसं २०४६ अघि दुई मेडिकल कलेज भएको देशमा अहिले दुई दर्जन पुगेका उल्लेख गर्दै उनले राजधानी काठमाडौँमा अहिले मेडिकल कलेज आवश्यक नरहेको बताए ।
कार्यक्रममा उनले डा. गोविन्द केसीलाई अनशनबाट उठ्न आग्रह गर्दै जिम्मेवार प्रतिपक्षीका हैसियतले कांग्रेसले फरक ढंगबाट डा. केसीको माग सम्बोधन गर्ने स्पष्ट पारे ।
सरकारले एक वर्षको अवधिमा कुनै जनपक्षीय काम नगरेको आरोप लगाउँदै उनले भ्रष्टाचार, अनियमितताका साथै सरकारको मनोमानीका विरोधमा काङ्ग्रेसले माघ २१ गते देशैभरि विरोधको कार्यक्रम अगाडि सारेको जानकारी दिए ।
