कृषि तथा वनविज्ञान विश्वविद्यालयको प्रवेश परीक्षामा अनुत्तिर्ण विद्यार्थीलाई उत्तीर्ण गराएको आरोप

फागुन ९, चितवन । परीक्षामा अनुत्तिर्ण विद्यार्थीलाई उत्तिर्ण गराएको भन्दै कृषि तथा वनविज्ञान विश्वविद्यालय पुनः विवादमा तानिएको छ । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयले कृषि तथा मत्स्यविज्ञान संकायको स्नातकोत्तर प्रवेश परीक्षामा फेल भएका तीन विद्यार्थीलाई पास गराएको आरोप छ ।  

विश्वविद्यालयले सीमा जमरकट्टेल, अपराजिता ओझा र अनिता भट्टराईलाई पशुविज्ञानको प्रवेश परीक्षामा सर्वोत्कृष्ट बनाएपछि परीक्षाको मर्यादा र वैधानिकता माथि नै प्रश्न उठेको हो । 

यसको विरोधमा प्राध्यापकले डिन कार्यालयमा ताला लगाइदिएका छन् । पशुविज्ञानको परीक्षामा सर्वोत्कृष्ट बनाइएकी सीमा परीक्षा समिति सदस्य सचिव रहेका सहायक डीन मातृका जमरकट्टेलकी छोरी हुन् । 

null

 

सहायक डिन भर्ना समितिको सदस्यसचिव रहने प्रावधान छ । आफ्ना छोराछोरी वा श्रीमान् र श्रीमती र नजिकका नातेदार परीक्षार्थीका रूपमा उपस्थित भएमा समितिमा स्वयं सदस्य सचिव समेत नरहने प्रावधान छ । आफ्नै छोरी परीक्षार्थी रहेको पशुविज्ञान संकायको स्नातकोत्तर प्रवेश परीक्षामा सदस्य सचिव समेत रहेका सहायक डिन जमकट्टेल सहभागी भएर अनियमितता गरेको आरोप प्राध्यापक र विद्यार्थी संगठनले लगाएका छन् । 

प्रजातन्त्रवादी प्राध्यापक संघले विश्वविद्यालयको डीनको एकतर्फी निर्णयका कारण परीक्षा प्रणालीमै प्रश्न उठेकाले विश्वविद्यालयको गरिमा र विश्वसनीयता मै आँच आएको भन्दै त्यसको विरोधमा डिनको कार्यालयमा तालाबन्दी गरेका छन् । यस विषयमा गम्भीर अनुसन्धान गर्नुपर्ने माग प्राध्यापकहरूको छ । आफ्नै बुवाले प्रश्नपत्र तयार गरेको र उत्तरपुस्तिका परीक्षण गरी छोरीलाई सबैभन्दा बढी अंक दिएको विरोध भएपछि विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना प्रक्रिया नै अवरुद्ध भएको छ । 

परीक्षा समितिमा पशुविज्ञान संकायका सहायक डीन जमरकट्टेल, कृषि संकायका सहायक डीन विष्णुराज ओझा र पशुविज्ञान संकायका प्राध्यापक निराजन भट्टराई थिए । सहायक डीन ओझा र प्राध्यापक भट्टराईका आफन्तलाई पनि प्रवेश परीक्षामा उत्कृष्ट बनाइएको छ ।  

 

परीक्षामा सीमाले ७८, कृषिका सहायक डिन ओझाकी छोरी अपराजिताले ७४.७ र पशुविज्ञान संकायका प्राध्यापक भट्टराईकी बहिनी अनिताले ७८ अंक ल्याएका छन् । यी तीनै छात्रा कृषि संकायको स्नातकोत्तर र मत्स्य विज्ञान संकायको परीक्षामा असफल भएको आरोप विद्यार्थी संगठनहरूको छ ।  

माघ ५ गते भएको पशुविज्ञानको परीक्षामा १२० जना सामेल थिए । जसमा २५ अनुत्तीर्ण भएका छन् । कृषिविज्ञानको प्रवेश परीक्षा मंसिर १ गते भई सोही दिन नतिजा सार्वजनिक भएको थियो । पशुविज्ञान र मत्स्त्यविज्ञानको परीक्षा भने माघ ५ गते भई सोही नतिजा सार्वजनिक भएको थियो । कृषि विज्ञानको परीक्षामा सहभागी ४८१ मध्ये २१३ जना उत्तीर्ण भएका थिए । 

 

यस्तै पशुविज्ञानतर्फ ११७ परीक्षार्थी मध्ये ६२ जना सफल भएका थिए । मत्स्यविज्ञानमा भने परीक्षामा सहभागी ४५ मध्ये तीन मात्र उत्तीर्ण भएका थिए । विश्वविद्यालयको परिक्षासम्बन्धी निर्देशिकामा परीक्षा समितिमा विभिन्न संकायका डिनमध्येबाट १, स्नातकोत्तर कार्यक्रम निर्देशक १, विभिन्न संकायका विभागीय प्रमुख ३, प्राध्यापकमध्ये बाट २, आर्थिक प्रशासन प्रमुख १, शैक्षिक प्रशासन प्रमुख १, सदस्यसचिव १ र डिनले तोकेको अध्यक्ष १ गरी ११ जना सदस्य रहने उल्लेख छ । 

 

प्रजातन्त्रवादी प्राध्यापक संघले राजनीतिक आस्थाका आधारमा विश्वविद्यालयकी पशुविज्ञान, मत्स्यविज्ञान र पशुचिकित्सा संकायकी डिन शारदा थपलियाले आफूखुसी निर्णय गर्दा परीक्षाको विश्वसनीयतामाथि प्रश्न उठेको आरोप लगाएको छ । संघले उक्त परीक्षा रद्द गरी फेरि परीक्षा लिनुपर्ने माग गरेको छ ।  

डिन थपलियाले कहींकतै गल्ती भए छानबिन गर्न र सरोकारवाला निकायसँग छलफल गरी समस्या समाधान गर्न आफू तयार रहेको बताइन् । कृषि तथा वनविज्ञान विश्वविद्यालयको परीक्षा प्रणाली बढी विश्वसनीय मानिँदै आएको छ । तर, पछिल्लो घटनाले उक्त विश्वविद्यालयको परीक्षा प्रणाली र मर्यादामाथि गम्भीर प्रश्न उब्जाएको छ । 

यस विषयमा प्राध्यापक निराजन भट्टराईले आफ्नो कुनै आफन्तले परीक्षा नदिएको र अनिता भट्टराई आफ्नो कुनै नातेदार नरहेको मकालु खबरलाई बताए ।  

यसैविच हेल्लो सरकारमा परीक्षामा अनुत्तिर्णलाई उत्तिर्ण गराइएको भन्दै छानविनका लागि उजुरी दर्ता समेत भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *