घिनाघाट–बिराटचोक सडकको स्तरोन्नति गर्न प्रदेश सांसदको माग

बिराटनगर, फागुन ६ । प्रदेश नम्बर १ को सोमबारको प्रदेशसभा बैठकमा बिराटनगरको घिनाघाटदेखि बिराटचोक सम्मको सडकको स्तरोन्नति नभएको भन्दै सोही क्षेत्रका प्रदेशसभा सांसदले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । 

मोरङको क्षेत्र नम्बर ४ (ख) का सांसद बिजयकुमार विश्वासले झापासँग जोड्ने छोटो दुरीको तथा संघ र प्रदेशका धेरै भिआइपी हिंड्ने सो सडकको स्तरोन्नतिका लागि पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सो सडक खण्डको तुरुन्तै टेण्डर आव्हान गर्न पनि प्रदेश सरकारको ध्यानाकर्षण गराए । बिराटनगर देखि पूर्वपश्चिम राजमार्ग र मोरङको पूर्वी क्षेत्र पुग्नका लागि छोटो बाटोको रुपमा प्रयोग गरिएको घिनाघाट–विराटचोक सडकको दुरी २२ किलोमिटर मात्रै छ । 

उक्त सडक नहुँदा बिराटनगरबाट पूर्व जान इटहरीकै बाटो प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ । सांसद विश्वासले यसअघि पनि प्रदेशसभाको बैठकमा घिनाघाट–विराटचोक सडकलाई ४ लेनको बनाउन जोडदार माग गर्दै आएका थिए । संघीय समाजवादी फोरमकी सांसद राधा थापाले मेची नगरका विभिन्न सडकहरुको स्तरोन्नति गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन । उनले कच्ची सडकलाई ग्राभेल र ग्राभेल सडकलाई कालोपत्रे गर्नु पर्ने बताइन । 

null

सांसद शौभाग्यवति देवी राईले वृक्षारोपण गर्दा मसलाको विरुवा रोप्न नहुने धारणा राखिन । मसलाको रुखले जमिन सुख्खा बनाउने तथ्यहरु सार्वजनिक भइरहेको भन्दै प्रदेश सरकारले अध्ययनकै बिषय बनाउनु पर्ने बताइन् । सडक किनारमा फलफुलको विरुवा रोपेर सडकलाई समेत आयमुलक बनाउनु पर्ने उनको सुझाव छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *