१५ महिनाको तलब महायज्ञमा दान गर्दै यी वडाध्यक्ष

माघ २४, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बलराम दाहालले आफ्नो तलब बापत आउने रकम विद्यालयलाई दान गरेका छन् ।
बछौली माविमा जारी महायज्ञमा वडाध्यक्ष दाहालले १५ महिनाको मासिक तलबबाट हुन आउने तीन लाख ११ हजार तथा बुबाको तुलादानबापत् १५ हजार रूपैयाँ दान गरेका हुन् ।
बछौली माविको शैक्षिक गुणस्तर सुधार र प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजित महायज्ञमा रत्ननगर ७ का रामकुमार भट्टराईले १० लाख बढी दान गरेका छन् । विद्यालयमा जारी महायज्ञमा हस्तबहादुर भट्टराई स्मृति प्रतिष्ठानका अध्यक्ष भट्टराईले १० लाख ५० हजार रूपैयाँ दान गरेका हुन् ।
null
विद्यालयमा अक्षयकोष स्थापनार्थ सो रकम सहयोग गरेको उनले बताए । त्यस्तै, महायज्ञमा होटल व्यवसायी शेरबहादुर परियारले पाँच लाख ५५ हजार र व्यवसायी माधव दुवाडीले एक लाख एक हजार सहयोग गरेका छन् ।
महायज्ञमा स्थानीय सुखलाल चौधरीले पाँच लाख रूपैयाँ सहयोग गरेका छन् । छोराहरु वासुदेव चौधरी, बालसिं चौधरी र शिवनारायण चौधरीसहित बुबा सुखलाल चौधरीले सो रकम दान गरेका हुन् ।
सुखलाल सो विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् भने छोरा वासुदेव चौधरी संस्थापक प्रधानाध्यापक हुन् । महायज्ञमा बाघमारा मध्यवर्ती समुदायिक वनले पनि १० लाख सहयोग गरेको छ ।








