रुकुम पूर्वमा सदरमुकाम विवाद : आन्दोलन चर्किएपछि निषेधाज्ञा जारी

रुकुम। रुकुमकोटमा निषेधाज्ञा जारी गरिएको छ। सदरमुकामको विवाद चुलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जनाएको छ।  

सदरमुकामका लागि रुकुमकोटका र गोलखाडाबासीले आ–आफ्ना आन्दोलनका कार्यक्रमहरु गर्न नछोड्ने अडान लिएपछि चार किल्ला तोकी निषेधित क्षेत्र घोषणा गरिएको कार्यालयले जनाएको छ। 

रुकुमकोटको चार किल्लामा कुनै पनि किसिमका सभा, जुलुस, भेला तथा प्रदर्शनका कार्यक्रमहरु गर्न गराउन निषेध गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए। 

null

प्रशासनले पूर्वमा सिस्ने गाउँपालिका ५ को धौला पहिरा, पश्चिममा रानीकोट, उत्तरमो रुकुमगाड हुँदै धाउनेको पारीघट्ट र दक्षिणमा शहीदपार्क हुँदै रुमालबारासम्म निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए। 

जिल्लामा चुलिइरहेको विवादको समस्या समाधान गर्न भन्दै दुवै पक्षको टोलीसहित बसेको वार्ता विफल भएपछि कुनै पनि अप्रिय घटना हुन नदिन चार किल्ला तोकेर निषेधित क्षेत्र घोषणा गरेका प्रमुख जिल्ला अधिकारी शर्माले बताए।  

सदरमुकामको विवादलाई लिएर केही दिन यता रुकुमकोट तनावग्रस्त छ।  

रुकुमकोटमा रहेको जिल्ला सदरमुकामा तत्कालीन शेर बहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथाउत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाडामा राख्ने निर्णय गरेको थियो । देउवा नेतृत्व सरकारको त्यस निर्णय विरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । 

रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केही शान्त भए पनि यही १४ गतेबाट पुनःआन्दोलनका कार्यक्रमहरु सुरु गरिएको छ । 

सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्चले आउँदो २७ गते बोलाएको छ । रुकुमकोटमा आन्दोलन चर्किँदै गइरहेको अवस्थामा गोलखाडाबासीले माघ २२ गते रुकुमकोट मै प्रदर्शन गर्ने घोषणा गरेसँगै विवाद झन् बढेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =