रंगेलीमा धार्मिक पर्यटक बढ्दै

फागुन ६, विराटनगर । दक्षिण पूर्वी मोरङको रंगेली स्थित संसारी माई मन्दिरमा धार्मिक पर्यटकको सख्या बढ्दै गएको छ । ऐतिहासिक तथा पौराणिक धार्मिक महत्व बोकेको सो मन्दिरमा श्रद्धा पूर्वक पुजा अर्चना गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वासका साथ श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । 

 

पूजा अर्चना गरे देवीसँग गरेको भाकल पूरा हुने भन्दै सो मन्दिर दर्शन गर्न साताको हरेक मंगलबार र शनिबार नेपाल तथा भारतका टाढा टाढाबाट दर्शनका लागि भक्तजनहरु आउने गरेका छन् । विराटनगर देखि २२ किलोमिटर पूर्वमा रहेको रंगेली ७ स्थित चिसाङ खोलाको बगरमा रहेको सन्सारी माई मन्दिरको लामो इतिहास रहेको छ । 

null

 

निकै पूरानो काब्राको रुख मुनि मन्दिर रहेको छ । मंगलबार र शनिबार यस मन्दिरमा बलि चढाउने भक्तजनहरुको समेत भिड लाग्दछ । अहिले सो मन्दिरमा नेपालका विभिन्न जिल्ला र भारतको कलकत्ता, हरियाणा तथा सिमा नजिकका शहरहरुबाट समेत भक्तजनहरु पूजा अर्चनाका लागि आउने गर्छन् । झापा गौरादहकी वविता कालिकोटेले आफु सो मन्दिरमा १ दशक बढी समयदेखी बेला बेलामा आउने गरेको बताइन् । 

 

उनले सो मन्दिरमा पुगेर पुजा आरधना गर्दा आफ्ना दुख कष्ट समाप्त भएको र भाकल पुरा हुँदै आएको दावी गरिन् । उनले भनिन् ‘ म माताको मन्दिरमा १० वर्ष बढी समयदेखी बेलाबेलामा दर्शन गर्न आउँछु । उहाँ आएर पुजा गरेपछी सँधै मेरा संकट दुख कष्ट टरेको छ । माता सँग मागेको कुरा पुरा पनि भएको छ, त्यसैले परिवार सहित माताको दर्शन गर्न मन्दिर आउँछु । 

 

’ मन्दिरको दर्शनसँगै भारतबाट आएका धार्मिक पर्यटकहरु केहीदिन नेपालमै घुम्ने गरेको स्थानीयले बताएका छन् । मन्दिरमा भाकल गरेको ९० दिन भित्र भाकल पूरा हुने जनविश्वासका साथ मन्दिरमा दर्शन गर्न आउने गरेको भक्तजनहरु बताउँछन । संसँरीमाई मन्दिरका पुजारी राजु अधिकारी सो मन्दिर पौराणीक रहेको बताए । उनले भने ‘ यो मन्दीरम देख्नु भएका रुखका हाँगाहरु भई सम्मै लत्रिएका छन् । यो मन्दिर सयौँ वर्ष पुरानो हो । यो रुखको फेदमुनी माता विराजमान हुनुहुन्छ र यहाँ जुनसुकै भक्तजनले मनोकांक्षा राख्दा ९० दिन भित्रमा पुरा हुन्छ । माताको धेरैनै शक्ति छ । 

आफ्ना भत्तजनहरुले मागेको पुरा गरिदिनुहुन्छ । त्यहि भएर यहाँ दिनानुदिन भक्तजनहरुको संख्या बढ्दै गएको हो ।’ उक्त मन्दिरमा भाकल गरेर बोकाको बलिदिने र प्रसाद घर लैजान नहुने परम्परा रहेको छ । मन्दिर क्षेत्रमा पुजाआजा सहित पिकनिक मनाउने उद्देश्यले समेत भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

 

अन्य दिन भन्दा मंगलबार र शनिबार मन्दिरमा हजारौँ भक्तजनहरुको भिड लाग्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए । उनले भने ‘ यहाँ दिनहुँ भक्तजनहरु आउँछन् तर पनि विषेश गरि मंगलबार र शनिवार चाँहि अत्याधिक भिँड लाग्ने गर्छ । अझ शनिवारका दिन त भिड नियन्त्रण गर्न नै हम्मे हम्मे पर्छ । 

यहाँ भक्तजनले बली चढाउँछन् र प्रसाद आफन्तजनहरुसँगै ग्रहण गर्छन् । एक हिसावले भन्ने हो भने पुजा अर्चना सहित भक्तजनहरुको पिक्नीक जस्तो समेत हुन्छ ।’ अध्यक्ष श्रेष्ठले उक्त मन्दिर क्षेत्रमा विकास निर्माण र संरक्षण भक्तजनहरुको भेटीले हुँदै आएको बताए । उनले भने ‘ यहाँ केहि संरचनाहरु बनाएका छौँ । त्यो भक्तजनहरुले चढाएको भेटिबाटैहो हामीलाई स्थानिय, प्रदेश र संघिय कुनै सरकारले ठोस रुपमा सहयोग गरेको छैन । 

भक्तजनहरुको भिड साप्ताहिक रुपमा बढदै जान थालेपछि प्रदेश सरकारले समेत उक्त मन्दिरको संरक्षण र सम्वर्धन ध्यान दिएको छ । केही महिना अघि मात्र प्रदेशका मुख्यमन्त्री शेरधन राई सबै मन्त्रीहरुसहित सो मन्दिरमा दर्शनका लागि पुगेका थिए । उनले सो मन्दिरको विकासमा सरकारले सक्दो सहयोग गर्ने बचन दिएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *