थोत्रो दमकलको भरमा टिकेको विराटनगर महानगरपालिका

विराटनगर, माघ १९ । प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगर महानगरपालिकामा रहेका वारुणयन्त्रको अवस्था लथालिङ्ग रहेको पाईएको छ । आगलागी नियन्त्रणका लागि आकस्मिक रुपमा प्रयोग हुने महानगरपालिका भित्रका वारुणयन्त्रको व्यवस्थापन फितलो रहेको पाईएको हो ।
विराटनगर– ४ स्थित महानगरपालिकाको वारुणयन्त्र कार्यालयमा हाल ५ हजार लिटर क्षमताका दुई वटामात्र दमकल सञ्चालनमा रहेका छन् । तर, त्यसमध्ये एउटा राम्रो अवस्थामा रहेको छ भने अर्को बिग्रि रहने गरेको छ । वारुणयन्त्र कार्यालयमा रहेका ६ वटा दमकल मध्ये ४ वटा बिग्रिएका छन् जसमा २ वटामात्र मर्मत भई सञ्चालनमा आउन सक्ने अवस्थामा रहेका छन् ।
ति दमकलहरुको मर्मतका लागि महानगरको ध्यान जान सकेको छैन । विराटनगरमा रहेका दमकलहरु दैनिक एक पटक त आगलागी नियन्त्रणका लागि कुदिरहेकै हुन्छन् । सुख्खा याममा आगलागीको जोखिम अत्याधिक हुन्छ ।
null
एकैपटक अन्य ठाउँमा आगलागी हुँदा तथा आगलागीमा थप दमकलको आवश्यकता परेमा दुहवी, इटहरी तथा रंगेलीलगायतमा ठाउँबाट वारुणयन्त्र ल्याउनुपर्ने अवस्था रहेको छ ।
गत पुस १९ गतेपनि एउटा यस्तै घटना घटेको थियो । विराटनगर–४ मा स्थानीय उर्मिला दासको घरमा आगलागी भएपछि गएका दुई वटा वारुणयन्त्र मध्ये एउटा बिग्रिएर आगो नियन्त्रण नगरी फर्किएको थियो । सो घटनामा इटहरीबाट थप वारुणयन्त्र मगाएर आगलागी नियन्त्रण गरिएको थियो । धन्न इटहरीबाट वारुणयन्त्र आयो, नआएको भए ? उत्तर महानगरपालिकासँग छैन ।
‘दमकलको संख्या हेर्ने होइन । त्यसले कसरी काम गरिरहेका छन् त्यो हेर्ने हो । २ वटा दमकल छन् तिनले प्रसस्त सेवा दिइरहेका छन् ।’
महानगरपालिका प्रवक्ता राजेन्द्र प्रधान
महानगरपालिका भित्रै दैनिक रुपमा आगलागीका घटना हुने गरेको भन्दै महानगरमा थप वारुणयन्त्र आवश्यक भएको विराटनगर वारुणयन्त्र कार्यालयका इन्चार्ज सुभाष कुँवरले बताए । उनले भने, ‘हामी सँग अहिले २ वटा दमकल मात्र चालु अवस्थामा छन्, त्यसमा पनि एउटाको त भरै छैन बारम्बार बिग्री रहन्छ । हावाहुरीको मौसम नजिकिँदो छ दैनिक जसो आगलागीका घटना भईरहन्छन् । यति दमकलले सेवा दिन हामीलाई अप्ठ्यारो परिरहेको छ ।’
महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले भने दमकलको संख्या भन्दा पनि सेवा कसरी सुचारु भई रहेको छ भन्ने कुरा महत्वपूर्ण भएको बताए । उनले महानगरपालिकामा रहेका दुईवटा दमकलले प्रशस्त रुपमा सेवा दिईरहेको दावी गरे ।
प्रवक्ता प्रधानले मर्मत गरेर चालु हालतमा ल्याउन सकिने दमकललाई मर्मतकालागि महानगरको बजेट कम भएका कारण ढिलो भएको स्वीकार्दै चाँडै मर्मत गरिने दावी गरे । ‘दमकलको संख्या हेर्ने होइन । त्यसले कसरी काम गरिरहेका छन् त्यो हेर्ने हो । २ वटा दमकल छन् तिनले प्रसस्त सेवा दिइरहेका छन् ।’
महानगरपालिकासँग नयाँ दमकल खरिद गर्न त परै जावोस पुराना दमकल मर्मत गर्न पनि बजेट छैन । ‘हामी बिग्रेका दमकल मर्मत गर्ने योजनामै छौँ तर, बजेट थोरै छुटिएको छ । यो त्रुटि भएकै हो, आगामी दिनमा यस कुरामा ध्यान दिईनेछ ।’ प्रवक्ता भन्छन् ।
महानगरले बिग्रिएका मध्ये २ वटा दमकल बन्न सक्ने जनाएपनि तिनको मर्मत खर्चको तथ्याङ निकालेको छैन । वारुणयन्त्र कार्यालयमा १८ जना कर्मचारी कार्यरत छन् । तर नयाँ ऐन र नयाँ प्रविधि बुझेको नेतृत्व गर्ने कर्मचारीको अझै आवश्यकता रहेको छ ।
विराटनगर महानगरपालिकादेशकै दोस्रो ठुलो शहर तथा पुर्वाञ्चलको औद्योगिक, व्यापारिक तथा प्रशासनिक केन्द्र पनि हो । १ नं. प्रदेशको अस्थायी राजधानी समेत रहेको विराटनगरको १९ वडामा करिब चार लाख जनसंख्या छ ।
औद्योगिक क्षेत्र, ४ लाख जनसंख्याको लागि एउटा दमकलले पर्याप्त सेवा दिन नसक्ने भएपनि भएका दमकल मर्मत गर्न र नयाँ दमकल खरिद गर्न महानगरपालिकाले कुनै चासो दिएको पाइन्न ।








