नेपाली महिला राष्ट्रिय फुटबल टोलीको भारतविरुद्ध ऐतिहासिक जित

काठमाडौं। नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हिरो गोल्डकपको दोस्रो खेलमा भारतविरुद्ध ऐतिहासिक जित रचेको छ । कलिंगा रंगशालामा सोमबार सम्पन्न खेलमा सावित्रा भण्डारीको दुई गोलमा नेपाल २-१ ले विजयी भएको हो । भारतको सिनियर महिला टोलीविरुद्ध नेपालको यो पहिलो जित हो। 

खेलको पाँचौ मिनेटमा नै नेपालले अग्रता लिएको हो । हिराकुमारी भुजेलको लामो पासमा सावित्राले गरेको प्रहार भारतकी गोलरक्षक अदिति चौहानले छोएपनि पोस्टको दिशा लिंदै गोल भयो । 

त्यसको दुई मिनेटमै सावित्राले दोस्रो गोल थपिन । मनमाया लिम्बूले पेनाल्टी क्षेत्रभित्र दायाँ भागबाट दिएको क्रस गोलरक्षक अदितिले खुट्टामुनिबाट फुत्काएपछि सावित्राले गोललाइनबाट खाली पोस्टमा गोल गरिन् । 

null

खेलको ८४ औं मिनेटमा भारतले अग्रता कम गर्यो । रतनाबाला देवीले सिधै फ्रिकिकमा गोल गर्दै भारतलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । थप समयमा गोल हुन नसक्दा नेपालले भारतमाथि सिनियर टोलीमा पहिलो जित दर्ता गर्न सफल रहयो । 

नेपालले यस जितसँगै प्रतियोगिताको फाइनल पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । पहिलो खेलमा म्यानमारविरुद्ध ३-० ले पराजित नेपाल अंक तालिकामा दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा इरानलाई १-० ले पराजित गरेपनि दोस्रो खेलमा नेपालसँग पराजित भएपछि अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । 

अंक तालिकाको शीर्ष स्थानमा म्यानमार रहेको छ । म्यानमारको २ खेलमा ६ अंक छ । पहिलो खेलमा नेपाललाई ३-० ले पराजित गरेको म्यानमारले सोमबारको पहिलो खेलमा इरानलाई २-० ले पराजित गरेको थियो । 

नेपालले अब अन्तिम खेलमा इरानलाई पराजित गरेर म्यानमारले भारतविरुद्ध बराबरी अथवा जित दर्ता गरेको खण्डमा नेपाल र म्यानमार फाइनल पुग्नेछन् । भारतले म्यानमारलाई हराएको खण्डमा भने नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *