डीपीएलमा आज दुई खेल: अत्तरिया र महेन्द्रनगर तथा काठमाडौं र रुपन्देही भिड्दै

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) मा आज आइतबार दुई खेल हुँदैछ ।
बर्षाले प्रभावित गरिरहेको डीपीएलमा आइतबार सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेड तथा काठमाडौं गोल्डेन्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ।
फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेलमा अपराजित अत्तरियालाई महेन्द्रनगरले चुनौती दिनेछ । अत्तरिया र महेन्द्रनगरबीचको खेल बिहान ९ बजेबाट सुरु हुनेछ।
null
महेन्द्रनगरविरुद्ध मैदान उत्रदा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरिया लगातार तेस्रो जितको खोजीमा हुनेछ। अत्तरिया २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ। त्यसैले अत्तरिया जित निकाल्दै प्ले अफमा पुग्न चाहन्छ।
यता, शरद भेषवाकरको टिम महेन्द्रनगर पहिलो जितको खोजीमा हुनेछ। सुरुवाती दुई खेल गुमाएको महेन्द्रनगरले २ अंक जोडेको छ।
महेन्द्रनगरको यो समूह चरणको अन्तिम खेल हो। महेन्द्रनगर अत्तरियाविरुद्ध जित निकाले प्ले अफको झिनो सम्भावना कायम रहन्छ। महेन्द्रनगरले पछिल्लो २ खेल बर्षाको कारण रद्द हुँदा एक एक अंक पाएको थियो। महेन्द्रनगरको प्ले अफ सम्भावना गणितीय रुपमा बाँकी रहेको छ।
आइतबार हुने दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंलाई बसन्त रेग्मीको रुपन्देहीले चुनौती दिनेछ।दुईबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
प्ले अफमा पुग्ने सम्भावना बलियो रहेको दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्। काठमाडौं ३ खेलमा ५ अंक जोडेर शीर्ष स्थानमा छ । सुरुवाती दुई खेलमा जित निकालेको काठमाडौंले बर्षाको कारण तेस्रो खेलमा अंक बाडेको थियो।
लिग लिडर काठमाडौंविरुद्ध रुपन्देहीको लक्ष्य तेस्रो जित नै हुनेछ। ३ खेलबाट २ जित र एक हार व्यहोरेको रुपन्देही तेस्रो स्थानमा छ।
काठमाडौंलाई हराएर रुपन्देहीको प्ले अफमा पुग्ने सम्भावना बलियो हुन्छ।








