मोरङको ऐतिहासिक झुमरीदेवी ताल लोप हुने अवस्थामा

फागुन ८, बिराटनगर । दक्षिणपूर्वी मोरङको सुनवर्षी नगरपालिका स्थित ऐतिहासिक झुमरीदेवी ताल लोप हुने अवस्थामा पुगेको छ । नगरपालिका र जनप्रतिनिधिको वेवास्ताका कारण सुनवर्षी नगरपालिका–९ डायनियाँस्थित ऐतिहासिक झुमरीदेवी ताल वेवारिसे हुदै लोप हुने अवस्थामा पुगेको हो । 

 

निर्वाचित भएर आएका जनप्रतिनिधिले सो पोखरीको संरक्षण र विकास गर्ने स्थानीयले आशा लिएपनि जनप्रतिनिधिको वेवास्ताका कारण सो ताल वेवारिसे अवस्थामा पुगेको स्थानीयले गुनासो गरेका छन् । उनीहरुले ऐतिहासिक महत्वको झुमरीदेवी ताल संरक्षण र विकासमा नगरवालिकाले ध्यान नदिएको गुनासो गरे । स्थानीयका अनुसार यो स्थानमा वषैँ अघिदेखि झुमरीदेवीको मन्दिर रहेको र पुजा आजा हुँदै आएको थियो । 

null

केहि वर्ष अघि सम्म पानी जम्ने खाल्डो र खाल्डोको बिचमा ढिस्को रहेको थियो । साविकको डायनियाँ गाविस रहँदा गाविसको पहलमा उक्त स्थानको संरक्षण र विकासका लागि ३५ लाख रुपैयाँको लागतमा खाल्डोलाई पोखरीका रुपमा विकास गरिएको थियो । तत्कालीन गाविस सचिवको अगुवाईमा पोखरीको बिचमा मन्दिर निर्माणको सुरुवात गरिएको थियो । त्यति मात्र होइन सो पोखरीमा पुग्न सडकको ट्र्याक समेत खोलिएको थियो । गाविसले नै उक्त पोखरी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ४ वटा बोटिङसमेत सञ्चालनमा ल्याएको थियो । तर राज्यको पुनरसंरचना पश्चात नगरपालिकामा परिणत भएपछि आएका निर्वाचित जनप्रतिनिधिले झुमरीदेवी तालको विकास र संरक्षणमा ध्यान नदिएपछि हाल सो ताल वेवारिसे अवस्थामा पुगेको स्थानीयको गुनासो छ । 

 

स्थानीय कातीलाल पासवानले तत्कालिन गाविसले सो ताल संरक्षण र पर्यटन विकासका लागि लाखौँ रुपैयाँ खर्च गरेको भएपनी हाल नगरपालिकाले कुनै चासो नदेखाएको आरोप लगाए । उनले भने ‘यहाँ गाविसले लाखौँ रुपैयाँ खर्च गरिसकेको छ । खर्च गरेको अहिले केही देखिँदैन । यहाँ लाखौँ बजेट खर्च गरिएको छ भन्दा जो कोहीलाई पनि पत्याउन हम्मे हम्मे पर्छ । बरु नगरपालिकाले उल्टै यहाँ पालिएको माछा समेत बेच्यो तर एकपैसा पनि यहाँ लगानी गरेन ।’ ५ विघा ५ कट्ठा क्षेत्रफलमा फैलिएको उक्त पोखरी क्षेत्रमा तत्कालीन गाउँविकास समितिले पार्क, पिकनिक स्पट, स्वीमिङपुलसहितको पर्यटकिय क्षेत्र बनाउने योजना सहित केहि काम अघि बढाएको थियो । 

गाविसले उक्त स्थानमा पर्यटकलाई लक्षित गर्दै शौचालय पनि निर्माण गरेको थियो । तर, त्यो शौचालय पनि प्रयोगमा नआई भत्किन थालेको छ । गाविसले सो क्षेत्रको पर्यटक प्रवद्र्धनका लागि सडकको ट्र्याक समेत खोलेर पोखरि वरिपरि बृक्षारोपण समेत गरेको थियो । तर, संरक्षणको अभावमा अहिले त्यहाँ एउटा बिरुवा पनि देख्न पाईदैँन  । यस पोखरीमा गरिएको लाखौँ रुपैयाँको लगानी त्यसै खेर गएको छ । 

तत्कालीन गाविस सचिव तथा हालका वडा सचिव पदम घिमिरेले गाविस हुँदा सो तालको संरक्षण र विकासका लागि ३५ लाख रुपैयाँ सम्म खर्च गरिएपनी राज्यको पुनर संरचना पश्चात नगरपालिकामा परिणत भएपछी भने केही कमी कमजोरी भएको स्वीकार गरे । उनले भने ‘गाविस हुँदा हामीले स्थानीयकै अगुवाइमा उपभोक्ता समिति गठन गरेर केही पहल गरेका थियौँ । अहिले सो तालका लागि नगरपालिकाले ध्यान नदिएको सथानीयको गुनासो छ । त्यसका लागि पनि नेतृत्वले केही सोच्नुपर्ने हो । किन भएन त्या मलाई थाहा भएन । ’ हाल उक्त पोखरिमा सञ्चालन गरिएका बोटहरु कामै नलाग्ने गरि बिग्रिएका छन् । बोटहरु विग्रिएर कामै नलाग्ने अवस्थामा पुगेपनि नगरपालिकाले चासो देखाएको छैन । 

सो पोखरीको बिचमा निमार्णाधीन अवस्थामा रहेको मन्दिर निर्माण सम्पन्न गर्न समेत नगरपालिकाले चासो नदेखाएको स्थानीयको आरोप छ । स्थानीयवासीले तत्कालीन गाविसले विकासको ठूलो सपना देखाएपनि नगरपालिकाले भने पोखरीमा पालिएको माछा समेत लाखौँ रुपैयाँमा विक्री गरेर सो ठाउँलाई वेवास्ता गरिरहेको आरोप लगाएका छन् । यता नगरपालिकाले भने सो तालको संरक्षणको प्रयास भइरहेको जनाएको छ । नगरपालिकाका मेयर कालीप्रसाद दासले ऐतिहाँसिक र धार्मीक स्थलहरुको संरक्षण गर्ने नगरपालिकाको प्रथामिकता रहेको बताउँदै केही ढिलो भएको बताए । 

उनले भने ‘निश्चय पनि यसो हेर्दा नगरपालिकाले झुमरीदेखी तालका लागि केही नगरे जस्तो देखिएको थयार्थ हो । तर हामी सो ताल संरक्षण र विकासका लागि योजना बनाएर अघि बढ्छौँ । केही ढिलो चाहीँ भएकै हो ।’ स्थानीयका अनुसार प्रयाप्त जग्गा तथा सम्भावना बोकेको ऐतिहासिक झुमरीदेवी ताल वेवारिसे अवस्थामा पुग्नुमा सुनवर्षि नगरपालिकाको ठूलो कमजोरि देखिएको छ । 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *