चितवनका होटलहरुमा प्रशासनको अनुगमन : मनकामना होटललाई बन्द गराइयो 

माघ २३ चितवन। खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले रामनगर क्षेत्रका होटलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा रामनगरमा रहेको होटल मनकामनालाइ बन्द गराइएको छ । 

 

होटलले सेवाग्राही लाइ गुणस्तरहीन खाना खुवाएको भन्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गत रहेको हेल्लो सरकारमा उजुरी परेपछि त्यहाँबाट आएको निर्देशन अनुसार गरिएको अनुगमनका क्रममा होटलले सरसफाईमा ध्यान नदिएको, खानेपानीको शुद्धतामा ध्यान नदिएको र फोहोर भान्छामा खाना पकाएर उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने गरेको भेटिएपछि होेटललाई बन्द गराइएको कार्यालयका प्रमुख बिक्की राउतले जानकारी दिए । 

null

 

अनुगमन टोलीले रामनगरमा रहेका न्यु मिलीजुली होटल , मामा भान्जा होटल, बिशाल होटल एण्ड कोल्ड स्टोर्स, न्यु बिष्णु होटल, शक्ति ओम होटल, पूजा होटल, तमु स्टाफ होटल र नितेश होटलको अनुगमन गरेको थियो । सो, क्रममा राईस प्यालेस थकाली भान्छा घरले हरीयो स्टीकरको दुरुपयोग गरेको भेटिएको थियो । भने, पूजा होटल , आदेश एण्ड आज्ञा कोल्ड स्टोर्स, र सञ्जय मदिरा बिक्री केन्द्रबाट म्याद सकिएको पेय पदार्थ नष्ट गरेको छ । 

तमु स्टाफ होटल र मनकामना होटलको पानी ट्यांकीभित्र गुट्खा, चाउचाउ बिस्कुटको खोल , पानीका बोतल दाँत माझ्ने ब्रसदेखि अन्य फोहोरजन्य वस्तुहरु समेत फेला पारेको थियो । टोलीले अनुगमनका क्रममा सबैजसो होटलको भान्छा घर फोहोरो भेटिएको र भाडा माझ्ने ठाउँ र त्यहाँको फोहोर उचित ब्यवस्थापन नगरेको पाईएको खाद्य निरीक्षक प्रदीप काफ्ले बताए । त्यस्तै, होटलहरुले खानेपानी शुद्धतामा कुनै ख्याल नगरेको देखिएकाले सबैलाई भान्सा ब्यवस्थापन र खानेपानीको फिल्टर जडान गर्न निर्देशन दिएको र उनीहरुलाई तीन दिन भित्र कार्यालयमा आउन निर्देशन दिएको कार्यालय प्रमुख राउतले बताए । 

 

टोलीले सबै जसो होटलको पानीट्याकी र ईनारको समेत निरीक्षण गरी खानेपानी र पकाउँदा प्रयोग गर्ने पानीका लागि तत्काल फिल्टर जडान गर्न निर्देशन समेत दिएको छ । हेल्लो सरकारमा रामनगरका होटलको बिषयमा गुनासो परेको र त्यहीं उजुरीका आधारमा अनुगमन गर्न निर्देशन भएकाले आफुहरुले अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय चितवन नायब सुब्बा उमेश पन्थीले बताए । अनुगमनका क्रममा सबै जसो होटलमा समस्या देखिएको उनको भनाइ छ । 

रामनगरका एक दुई बाहेक धेरै जसो होटलहरुले खाद्य सुरक्षामा ध्यान नदिएको र मूल्य पनि मंहगो लिने गरेको भेटिएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष बिष्णु भुषालले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =