हरेक घरको फोहोर सदुपयोगमा ल्याउने तयारी गर्दै चन्द्रागिरि नगरपालिका

माघ २८, काठमाडौँ । चन्द्रागिरिका नगर प्रमुख धनश्याम गिरीले चन्द्रागिरिबाट निस्कने फोहरलाई मोहरमा रूपान्तरण गर्ने कार्ययोजना तयार भइरहेको बताएका छन् ।
‘फोहोर नफालाँै स्वस्थ रहौँ, सभ्य समाजको निर्माण गरौँ’ भन्ने नाराको साथ खहरे तथा कुते खोला सरसफाइ अभियान २०७५ र सामुदायिक प्रहरी साझेदारी अन्तर्गत महानगरीय प्रहरी वृत्त थानकोटको आयोजनामा सुरू भएको सप्ताहव्यापी सरसफाइ अभियानको उद्धघाटन गर्दै नगर प्रमुख गिरीले चन्द्रागिरीको घरघरबाट निस्कने फोहोरलाई सदुपयोगमा ल्याइ सभ्य समाज निर्माणको कार्ययोजना बनाइने बताएका हुन् ।
null
नगर प्रमुख गिरीले भने, ‘हामी वृहत् योजना, कार्यनिति बनाइ सबैको घर–घरबाट निस्कने प्लास्टिकजन्य, कागजजन्य, फलामजन्य , सिसाजन्य र कुहिने फोहोरलाई संकलन गरेर आर्थिक रूपान्तरणको बाटोमा लाने तयारीमा छौँ ।’
कार्यक्रममा बोल्दै महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख कुमार विक्रम थापाले बढ्दो शहरीकरण संगै फोहर व्यवस्थापनमा समुदायमा आधारित समाजको विकास रूपान्तरणमा प्रहरीको सक्दो सहयोग रहने बताए । उनले समाजमा हुने हरेक क्रियाकलापमा प्रहरीको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहने भन्दै समाजलाई सभ्य र भयरहित बनाउने कार्यमा कुनै कसर नराख्ने दाबी गरे ।
त्यस्तै नेपाली काँग्रेसका नेता जीवन गिरीले समाजलाई स्वस्थ राख्नु सबै नागरिकको कर्तव्य भएको भन्दै स्वस्थ र सभ्य समाज निर्माणमा सबैले हातेमालो गर्नुपर्ने बताए । हरेक नागरिकको चेतनास्तर माथी उठ्नुपर्ने समाज सेवी राजु वखतीको भनाइ थियो ।
समाजसेवी तथा कृषि सहकारी दहचोकका अध्यक्ष विरवल थापाले घर–घरबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या देखिएको हुँदा नगरपालिकाले छिटै नयाँ अवधारणा बनाउन तत्काल आवश्यक रहेको औंल्याए ।
सरसफाइमा कार्यक्रममा स्थानीय संघ संस्थाको प्रतिनिधि, युवा क्लबका प्रतिनिधि राजनीतिकर्मी, विद्यार्थीहरूको सहभागीता रहेको थियो । आज मात्रै उक्त क्षेत्रको खोलाबाट करिब २ टन फोहोर निकालिएको थियो ।








